सार्वजनिक सम्पत्तिको विवरण १५ दिनभित्र बुझाउन निर्देशन

काठमाडौँ, २७ फागुन (रासस) ः प्रतिनिधिसभा, अर्थसमितिले नेपाल सरकारअन्तर्गतका सबै मन्त्रालय, निकाय, आयोग संस्थान, समितिका सार्वजनिक सम्पत्ति के कति छ ? यसको यकिन विवरण १५ दिनभित्र बुझाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिएको छ ।

समितिका सभापति कृष्णप्रसाद दाहालको अध्यक्षतामा आज बसेको बैठकले एकीकृत सार्वजनिक सम्पत्ति अभिलेखको कार्यलाई थप प्रभावकारी बनाउन पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिएको छ ।

समितिको बैठकमा समितिका सदस्यले सरकारको सार्वजनिक सम्पत्ति के कति छ ? भन्ने यकिन अभिलेख नहनु दुःखद् भएको भन्दै एकीकृत सार्वजनिक सम्पत्ति अभिलेख राख्न आग्रह गर्नुभयो । उहाँहरुले विशेष गरी काठमाडौँ उपत्यकाभित्रका सार्वजनिक सम्पत्ति अभिलेख तथा संरक्षणमा विशेष ध्यान दिन सरकारलाई आग्रह गर्दै सिंहदरबारले कति जमीन ओगटेको छ ? यो कसको नाममा छ ? यहाँभित्र कति वटा सरकारी कार्यालय छन् ? जस्ता प्रश्न बैठकमा राख्नुभएको थियो ।

बैठकमा समितिका सदस्य हरिराज अधिकारीले सरकारको के कति सार्वजनिक सम्पत्ति छ ? यो कसरी संरक्षण र उपयोग भइराखेको छ भन्ने कुरा कुन निकायबाट जानकारी प्राप्त हुन्छ भन्ने प्रश्न राख्नुभयो ।

सदस्य सत्या पहाडीले सरकारले अर्थतन्त्र सूचकाङ्क अद्यावधिक गरी सार्वजनिक गरिएजस्तै भौतिक सम्पत्तिका अवस्था र यसको उपयोगका विषयमा सार्वजनिक गर्न माग गर्नुभयो । अर्का सदस्य जुलीकुमारी महतोले सार्वजनिक सम्पत्ति संरक्षणअन्तर्गत गुठी जग्गा व्यवस्थापनमा सरकारले प्राथमिकता दिनुपर्छ भन्नुभयो ।

Shares

Be the first to comment on "सार्वजनिक सम्पत्तिको विवरण १५ दिनभित्र बुझाउन निर्देशन"

Leave a comment

Your email address will not be published.


*