दीक्षण समाचार
जिरी, १० फागुन
जिरी नगरपालिकाको हरेक वडामा व्यवस्थित पार्क बन्ने भएको छ । नगरपालिकाले हरेक वडामा पर्यटकहरुका लागि समय विताउने उपयुक्त स्थानका लागि पार्क निर्माण गर्न लागेको हो । जिरीमा ९ वटा वडा रहेको छ ।
पार्क निर्माणका लागि केही वडाहरुमा काम समेत सुरु गरेको छ । जिरीको हरेक वडाको स्थानीय प्राकृतिक तथा धार्मिक सांस्कृतिक विशेषता झल्कने गरी पार्क निर्माण गर्न लागेको हो । नगरपालिकाले आफ्नो पञ्च वर्षिय योजनामा मुख्य रुपमा पर्यटन विकास गर्नलाई प्राथमिकतामा राखेको छ ।
जिरी नगरपालिकाका ९ वडा मध्ये ७ वडामा पार्क निर्माणको काम सुरु भएको छ । नगरपालिकाको वडा नम्बर ६ मा ३ वटा पार्क बन्ने छन् भने अरु वडामा एक एक वटा पार्क बन्ने छन् । नगरपालिकाले आफ्ना विकास साझेदार संस्थाहरु र स्थानीयसँगको सहकार्यमा पार्क निर्माणको काम अघि बढाएको जिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुडामणि शर्माले जानकारी दिए ।
उनका अनुसार जिरी नगरपालिकाको वडा नम्बर १ पुम्पामा स्टोन पार्क, वडा नम्बर २ मालीमा ठूलोढुंगा शैलुङ पार्क, वडा नम्बर ३ मा कुथामे पार्क र वडा नम्बर ४ मा तेन्जिङ हिलारी स्मृति पार्क निर्माणको काम सुरु भएको छ । स्टोन पार्कमा ३ वटा प्रतिक्षालय सहित घेराबार र गोरेटो बाटो समेत निर्माण भएको छ । स्वट्जरल्याण्डको जुरिचमा पनि पुराना ढुङ्गाहरुलाई मिलाएर स्टोन पार्क बनाएकाले त्यही मोडेलमा पुम्पामा पनि स्टोन पार्क निर्माण हुने उनले जानकारी दिए ।
स्टोन पार्कका लागि अहिले १३ लाख १५ हजार खर्च भइ सकेको छ । त्यसमा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम(युएनडीपी) र नगरपालिकाले ६÷६ लाख लगानी गरेका छन् भने थप स्थानीय समुदायले सहभागिता जनाएका छन् ।
त्यसैगरी वडा नं. ६ मानेडाँडामा पनि बुद्धपार्क निर्माणाधिन छ । बुद्धको मुर्ति स्थापना भइसकेको छ भने त्यहाँसम्म पुग्ने पदमार्गका लागि युएनडीपीले सहयोग गरेको स्थानीय साझेदार संस्था ग्रामीण वातावरण सुधार समाजका अध्यक्ष शंकरबहादुर थापाले जानकारी दिए । जिरीमै युएनडिपीकै सहयोगमा ८ वटा ठाउँमा पर्यटक सूचना केन्द्र समेत राखिएको थापाले जानकारी दिए । जिरी छिर्ने गेट खावाडाँडा देखि विभिन्न ठाउँमा यस्तो सूचना बोर्ड राखिएको उनले बताए ।
पर्यटक सूचना बोर्डले जिरी भ्रमणमा आउँने जोकोहीका लागि हरेक सुचना सजिलै प्राप्त हुने जिरीको पर्यटन विकासमा लागेका युवा सञ्जाल जिरीका अध्यक्ष केन्द्रज्योती खड्काले जानकारी दिए ।
जिरीमा यि पार्क सहित जिरी नगरपालिकाको वडा नम्बर १ मा स्टोन पार्क, २ मा ठूलोढुंगा शैलुङ पार्क, ३ मा कुथामे पार्क, ४ मा तेन्जिङ हिलारी स्मृति पार्क बन्ने छन् । त्यसैगरी वडा नम्बर ५ लिँकन बजारमा टोनी हेगन इकोलोजीकल पार्क, वडा नम्बर ६ हाटडाँडामा मानेडाँडा पार्क, बुद्ध पार्क र गुराँसे पार्क तथा वडा नम्बर ७ मा खावा डाँडा पिकनीक पार्क निर्माण हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शर्माले जानकारी दिए । पञ्च वर्षिय योजनामा समेटिएका यि योजना ३ वर्ष भित्र पूरा गर्ने योजना रहेको उनले बताए ।
पार्क निर्माण सुरु भएकाहरुमा साना साना काम भए तापनि त्यसको विस्तृत योजना बनाएर त्यसैको आधारमा सबैको काम सुरु हुने बताए । पार्क निर्माणका लागि संघी सरकार, प्रदेश सरकार र विकास साझेदारसँग पनि सहयोग लिने नगरपालिको योजना छ । उनका अनुसार युएनडीपीको साझेदारीमा स्टोन पार्क निर्माणका लागि १२ लाख, ठूलोढुंगा शैलुङ पार्क निर्माणका लागि ६ लाख, कुथामे पार्क निर्माणका लागि ४ लाख र तेञ्जिङ हिलारी पार्क निर्माणका लागि प्रदेश सरकारले २५ लाख रकम खर्च भइसकेको छ । यसैगरी टोनी हेगन इकोलोजीकल पार्क निर्माणका लागि प्रदेश सरकारले २५ लाख र नगरपालिकाले १० लाख रकम विनियोज गरेको छ । बुद्ध पार्क, गुराँसे पार्क र खावाडाँडा पिकनीक पार्कको लागि पनि वर्षेनी रकम छुट्याउँदै आइरहेकोे नगरपालिकाका योजना शाखाका प्रमुख कृतन बरालले जानकारी दिए । “क्लिन जिरी, ग्रिन जिरी र अर्कानिक जिरी” नारा सहित अघि बढेको नगरपालिको ३ वर्ष भित्रमै नारा अनुसार काम पूरा गर्ने योजना छ ।
Be the first to comment on "जिरीमा पार्क नै पार्क बन्ने"