इश्वर विश्वकर्मा
जिलू, २९ माघ
मानिसहरु कामप्रति विभिन्न भावना राख्दछन् । पढेलेखेको मानिसले उच्चस्तरकोे काम गर्नु पर्दछ भने सोच राख्ने धेरै छन् । तर भीमेश्वर नगरपालिका वडा नं. ४ जिलूमा २ युवा मिलेर स्थानीय जातका कुखुरा संरक्षण र व्यावसायमा लागेका छन् ।
धेरैले कुखुरा पालन व्यवसाय भन्ने वित्तिकै चाँडो उत्पादन दिने हाइब्रिड जातका कुखुरा पालनमा ध्यान दिएका छन् । तर विकासे जातको बोइलर कुखुराका कारण स्थानीय जातका कुखुरा लोप हुने अवस्थामा बैतेश्वर गाउँपालिका वडा नं. ७ का सन्तोष रिमाल र भीमेश्वर नगरपालिका वडा नं. ४ जिलूका मोहनप्रसाद चौलागाई मिलेर स्थानीय जातका कुखुरा फार्म नै बनाएर व्यवसायिक कुखुरा पालन थालेका हुन् ।
चरिकोटबाट ३ किलोमिटर नजिकै भीमेश्वर नगरपालिका ४ सिरान गाउँमा लेकाली लोकल कुखुरा फार्म सञ्चालन थालेको ६ महिना भयो । स्थानीय जातका कुखुराको उत्पादन ढिला हुन्छ । तर यसको माग र आम्दानी मनग्य भएकाले यि युवा यसतर्फ आकर्षित भएका हुन् ।
यि युवा दुवै रोजगार हुन् । सन्तोष स्थानीय गैर सरकारी संस्था इकाड्स दोलखामा पूर्वाधार अधिकृतको रुपमा काम काम गर्दै आएका छन् भने चौलागाई जिल्ला स्वास्थ्य कार्यालयमा । तर आफ्नो परिवारका लागि पनि रोजगारी हुने गरी यो व्यवसाय सुरु गरेका हुन् । उनीहरु आफ्नो कार्यालयको कामको अतिरिक्त समयमा फार्ममा नै ध्यान दिन्छन् ।
यि दई युवाले गरेको व्यवसायलाई मानिसहरुले उदाहरणीय व्यक्तिको रुपमा लिन थालेका छन् । फार्ममा अहिले ९ लाख जति लगानी भइसकेको छ । उनीहरुले पाल्पा र इलामबाट कुखुरा ल्याएर फाराम सुरु गरेका हुन् । अहिले स्थानीय जातको कुखुरा क्रस साखिने क्रस, फाइटर, न्यू हिमशिखर गरी ६ प्रजातीका रहेको फार्म व्यवस्थापक रिमालले जानकारी दिए ।
लोकल कुखुरालाई आहारा वा चारोका निम्ति स्थानीय स्तरमा नै उपलब्ध मकै भटमास आदिको प्रयोग गर्दै आएका छन् । त्यस्तै आधुनिक तरिकाले चरिचरणको व्यवस्थापन गरेका फार्मका अध्यक्ष मोहनप्रसाद चौलागाईले जानकारी दिए । पछिल्लो समयमा होटल, रेष्टुरेन्ट तथा स्थानीय गाउँघरमा पनि यसको माग बढ्दै गइरहेको छ ।
उच्च मूल्य तिरे पनि स्थानीय कुखुरा पाउन मुस्किल भएको अवस्थामा आफ्नै ठाउँमा कुखुरापालन गरी स्थानीय जातका कुखुराको संरक्षण गर्नु पनि फार्मको उद्देश्य हो । वार्षिक रुपमा ४० हजार लोकल कुखुराको चल्ला उत्पादन गर्ने उद्देश्य लिए तापनि सोचे जति उत्पादन भने हुन सकेको छैन ।
हालसम्म कुखुराको चल्ला उत्पादन गर्न परम्परागत शैलीमा कुखुरालाई ओथारो दिएर चल्ला कोरल्ने विधि मात्र छ । आधुनिक प्रविधिको प्रयोग भएको पाइदैन । लोकल कुखुराको चल्ला जिल्लाभरबाट माग भएको उनले बताए ।
कुखुरा वृद्धि हुन र मासु खान योग्य हुनका लागि करिब ७ महिना लाग्ने उनले बताए । अहिलेसम्ममा ७ सय कुखुरा फार्मबाट विक्री भएको छ । एक हजार कुखुराको फाराममा रहेका छन् । स्थानीय जातका कुखुरा स्वास्थ्यका दृष्टिकोणले लाभदायक रहेको उनले बताए ।
खानामा स्थानीय जातका कुखुरा स्वादिष्ट र पोषणयुक्त हुने फार्म अध्यक्ष चौलागाईले दाबी गरे । लोकल कुखुराको मासु मुटुका रोग र सुगर रोगीले पनि खान मिल्ने बताए । फार्मले आफ्नै मिल सञ्चालन गरेर ढुटो, पिटो, पिना पनि उत्पादन गरेर बिक्री गर्दै आएको छ ।
Be the first to comment on "जागिरसँगै स्थानीय कुखुराको पनि फार्म"