दीक्षण समाचार
जिरी २६ माघ
जिरी नगरपालिकाले जिरी प्रवेश गर्ने सवारी साधनबाट लिने शुल्क हटाएको छ । नगरपालिकाले बुधबारदेखि नै इलाका प्रहरी कार्यालय जिरीसँगै प्रहरीको गाडी चेक पोष्टमै राखिएको शुल्क लिने पोष्ट बन्द गराएको हो । राजमार्गमै पोष्ट राखेर प्रहरीको पोष्टमा गाडी रोकेको मौको छोपेर नगरपालिकाले कर्मचारी राखेर शुल्क उठाउँदै आएको थियो ।
नगरपालिकाले जिरीमा भित्रीने सवारी साधनलाई पार्किङ र सरसफाइ शुल्कका नाममा राजमार्गमै बसेर शुल्क उठाउदै आएको थियो । नगरपालिकाले सवारी साधनबाट अतिरिक्त शुल्क लिएको समाचार दीक्षण दैनिकमा प्रकाशित भएको थियो । समाचार प्रकाशित भएको एक साता भित्रै नगरपालिकाले पोष्ट बन्द गराएको हो । नगरपालिकाले डेढ महिनादेखि सवारी साधनबाट शुल्क उठाउँदै आएको थियो ।
जिरी प्रवेश गर्ने ठूला बस, ट्रकका लागि प्रति पटक ६०, मिनी ट्रक, मिनी बस, भ्यान, ट्याक्टरका लागि ५० र साना जिपका लागि ४० रुपैयाका दरले शुल्क लिने गरिएको थियो । जिरीको सडक हुँदै ओहोर दोहोर गर्ने सबै सवारी साधनसँग शुल्क लिने गरेको थियो ।
Be the first to comment on "जिरी नगरपालिकाको पार्किङ शुल्क हट्यो"