केन्द्रज्योति खड्का
जिरी, –हनुमन्तेडाँडामा विश्वकै अग्लो हनुमानको मूर्ती स्थापना हुने भएको छ । गौरीशंकर गाउँपालिका, जिरी नगरपालिका र बैतेश्वर गाउँपालिकाको संगम हनुमन्ते डाँडामा हनुमानको मूर्ती राख्ने प्रक्रिया अघि बढेको छ ।
स्थानीय सरकार र प्रदेश सांसद विशाल खड्काको पहलमा मूर्ती स्थापना गर्न लागेको हो । हनुमानको मूर्ती स्थापना र हनुमन्ते क्षेत्रको एकीकृत अध्ययनका लागि तीन वटा स्थानीय तहले चासो देखाएका छन् ।
समुन्द्री सतहवाट ३०५० मिटरको उचाइमा अवस्थित हनुमन्ते पर्वत भौगोलिक हिसाबले दोलखा जिल्लाको उत्तरपूर्वी क्षेत्रमा पर्दछ । जिरी नगरपालिका, गौरिशंकर गाँउपालिका र बैतेश्वर गाउँपालिकाको सिमाक्षेत्रमा फैलिएको हनुमन्ते पर्वत श्रृंखला प्राकृतिक रुपमा मात्र नभई धार्मिक दृष्टिकोणले समेत निकै महत्वपूर्ण रहेको छ ।
प्रशिद्ध गौरिशंकर हिमाल लगायत रोल्वालिङ हिमश्रृंखलाको दर्जन बढी हिमालहरुको प्रत्यक्ष अवलोकन गर्न सकिने यस पर्वतबाट पूर्वमा नुम्बुर हिमाल र पश्चिममा गणेश हिमाल, लाङटाङ हिमाल लगायत चिनतर्फका समेत अधिकांस हिमालको तथा उच्च पहाडहरुको दृष्याबलोकन गर्न सकिन्छ ।
प्रशिद्ध कालिन्चोक भगवती, भिमेश्वर मन्दिर, च्योर्दोङ्ग, महाभारत पर्वतमालाको सबैभन्दा उच्च टाकुरा शैलुङ लगायत दोलखाको करिव ९० प्रतिशत भुभाग सहित रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, रसुवा, ओखलढुङ्गा, सिन्धुली र सोलुखुम्बुको केहि उच्च भुभागहरु एकै स्थानमा बसेर देख्न सकिन्छ ।
हनुमन्ते पर्वतको धार्मिक महत्व ः
हिन्दु धार्मिक ग्रन्थ रामायणका अनुसार महापुरुष रामकी श्रीमती सितालाई लंकाका राजा रावणले हरेर लगेपछि भएको युद्धमा रावणले प्रहार गरेको व्रम्हाअस्त्र रामका भाई लक्ष्मणलाई लागेपछि मृत्युशैयामा चिच्याईरहेका उनको उपचार संजिवनी वुटिको रसले मात्र गर्न सक्ने लंकाका वैद्यहरुले (प्रमुख बैध सुनैना भनी उल्लेख गरिएको) वताए पछि हनुमान उक्त संजिवनी वुटि खोज्न हिमालय पर्वत तर्फ गएको रामायणमा उल्लेख छ ।
हिमालय पर्वतमा उपचारका लागि चाहिने संविजनी वुटि चिन्न नसकेपछि उनले एउटा सिङ्गो पहाड नै वोकेर ल्याएको प्रशंग पनि उक्त ग्रन्थमा उल्लेख गरिएको छ । तथापी हिमालाय श्रृङखलाको कुन क्षेत्रवाट उक्त पहाड ल्याएको भन्ने वारेमा अर्थात उक्त पहाडको नामको वारेमा भने न त रामायणमा नै उल्लेख गरिएको छ न त अन्य कुनै प्राचिन ग्रन्थहरुमा ।
हालसालै केही भारतीय पुस्तक, पत्रपत्रिका र वेभसाइटहरुमा उक्त संजिवनी वुटियुक्त पर्वत उत्तराखण्डको द्रोणागिरी पर्वत रहेको भनी दाबी गरिरहेका छन् । सोही अनुरुप प्रचार प्रसार गरिरहेका छन् । हिमालयको भौगोलिक वर्गिकरण अनुसार चुरे पहाड भन्दा माथिको भागलाई हिमालय भनिन्छ ।
सामान्यतया समुन्द्री सतहवाट २१०० मिटर देखि ८८४८ मिटरसम्मको चुरे पर्वतको फेददेखि तिव्वतीयन पठारसम्मको उत्तर दक्षिण भुभाग र भुटान देखि अफ्गानिस्तान सम्मको २४०० किलोमिटर पूर्व पश्चिम क्षेत्र हिमालय भित्र पर्दछ । जस अनुसार हिमालयको करिव दुई तिहाई भुभाग नेपाल भित्र पर्दछ । यस अर्थमा हनुमानले हिमालयबाट लगेको भनिएको पर्वत भारतको द्रोणागिरी नभई नेपालतर्फको क्षेत्रमा समेत भएको हुनसक्ने आधारलाई नकार्न सकिन्न । भारतको आक्रमक प्रचारको प्रभाव र नेपालको न्युन खोज, चासो एवं अनुसन्धानका कारण ऐतिहासिक दस्तावेज गलत भईरहेको हुन सक्छ ।
नेपालको मात्र सन्दर्भ हेर्ने हो भने दोलखा जिल्लाको हनुमन्ते भन्दा अन्य कुनै पहाड हनुमानको नाम वा प्रशंगसंग जोडिएको भेटिदैन । गुगल, विकिपेडिया तथा अन्य सर्च ईन्जिनहरुमा खोजी गर्दा समेत हालको प्रस्तावित स्थान बाहेक अन्यत्र उक्त नाम उल्लेख गरिएको छैन । हनुमन्ते पर्वतसंग सम्वन्धित अन्य तथ्य, पुरातात्वीक प्रमाण एवं प्राचिन किम्बदन्तीहरु हेर्ने हो भने हनुमानले वोकेको संजिवनी पर्वत यहि हुनसक्ने प्रशस्त आधारहरु छन् ।
हनुमन्ते वरीपरि रहेका गुफा तथा पहराहरुमा रहेको अनेकौं आकृति तथा चिन्हहरु जस्तै हनुमानको हातको पञ्जाको छाप, खुट्टाको पञ्जाको छाप आदिले हनुमन्तेको केहि नै केहि सम्वन्ध हनुमानसंग रहेको अनुमान गर्न सकिन्छ । फेदबाट करिव २०० मिटर अग्लो चट्टानको विचमा अवस्थित हनुमानको पूर्णकदको चिन्ह (शरीरको आकृति) मल्लकालिन समयमा कसैले चट्टान नै काटेर लगि (हाल उक्त स्थानमा धारिलो वस्तुले चट्टान काटिएको दाग मात्र देख्न सकिन्छ) नयाँ मुर्ति राखिदिएको भनाई छ ।
उक्त मुर्ती समेत केही वर्ष अगाडि नेपाल टेलिकमको टावर बनाउने क्रममा हराएको स्नानीयको भनाई छ । स्थानीयको पहलमा हाल एउटा सानो हनुमानको प्रतिमा भने केहि माथि डाँडामा (हालको प्रस्तावित निर्माणस्थलमा) रहेको छ । माथि उल्लेखित विविध कारणले गर्दा यो क्षेत्र परापूर्वकालदेखि नै निकै महत्वको स्थान रहेको अनुमान गर्न सकिन्छ । तथापी यसका सम्वन्धमा थप अध्ययन अनुसन्धान गर्न भने जरुरी छ ।
हनुमन्तेको विशाल पहराको फेदमा रहेको सानो गुफामा रहेको सिवलिङ्ग आकारको शिला र त्यसमाथि वाट गाईको चारवटा थुन जस्तो आकार भएको चट्टानवाट झरिरहेको सेतो दुध जस्तो तरल पदार्थले सवैलाई आश्चर्यमा मात्र पार्दैन धार्मिक विश्वास नभएकाहरुलाई समेत विश्वासको आधार प्रस्तुत गरेको छ । उक्त शिवलिङ्गको छेउमै रहेको सानो कुवामा वाह्रै महिना पानी जम्मा भईरहन्छ । हनुमन्ते पर्वतको जिरी तर्फको क्षेत्रमा विशाल चट्टानमुनी ठुलो ओडार रहेको छ । ओडारको भित्रि भागमा महादेवको शिला रहेको छ जस्लाई मन्दिरको रुप दिईएको छ । करिव २ सय जना सजिलै अट्न सकिने उक्त ओडारका भित्ताहरुमा विभिन्न जनावरहरुको आकृति तथा चिन्ह देख्न सकिन्छ भने मन्दिरको छेउमा रहेको कुवामा रगत जस्तो रातो पानि जमेको देख्न सकिन्छ । उक्त कुवाको पानि छोईएमा घरपरिवारमा अनिष्ट हुने किवंदन्ती रहेको छ । पहिले पहिले घना जंगल हुदाँ उक्त ओडारमा बाघ, भालु जस्ता जंगली जनावरहरु वस्ने गरेको स्थानीय वृद्धहरु वताउछन् ।
Be the first to comment on "हनुमन्तेमा विश्वको अग्लो हनुमान मूर्ती"