दीक्षण समाचार
चरिकोट, १५ माघ
ग्रीनलाईफ हाइड्रोपावर लिमिटेडले माघ २२ गतेदेखि १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता साधारण शेयर जारी गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि जारी पूँजी एक अर्ब ८० करोडको १० प्रतिशत शेयर जारी गर्न लागको हो ।
कुन क्षेत्रका बासिन्दालाई कति ?
यस आईपिओमा दोलखा जिल्लाको आयोजनाबाट प्रभावित क्षेत्र गौरीशंकर गाउँपालिका र विगू गाउँपालिका वडन नं. ४ का स्थानीयबासीले यसमा सेयर आवेदनमा भाग लिन पाउँने छन् । यसमा पनि अपर तामाकोसीको जस्तै अति प्रभावित, प्रभावित र कम प्रभावित गरी ३ समूहमा विभाजन गरिएको छ ।
अति प्रभावित समूह ’क’ अन्तर्गत गौरीशंकर गाउँपालिका वडा नं ७ मार्बु बासिन्दाहरुलाई पाँच लाख ४० हजार कित्ता (३० प्रतिशत) का लागि आवेदन दिन पाउनेछन् । यहाँ आयोजनाका सम्पूर्ण संरचनाहरु निर्माण भएका छन् ।
यसैगरी समूह ’ख’ अन्तर्गत गौरीशंकर गाउँपालिका वडा नं ५ सुरी, ६ चंखु, ८ खारे र ९ नं वडाका बासिनदाका लागि ७ लाख २० हजार (४० प्रतिशत) कित्ता शेयरका लागि आवेदन गर्न सक्नेछन् । यहाँ सडक र प्रसारण लाइन पर्दछ् ।
यस्तै समूह ’ग’ अन्तर्गत गौरीशंकर गाउँपालिका वडा नं १ र २ जँगू वडा नं ३ र ४ झ्याँकु र विगु गाउँपालिका वडा नं ४ लादुकका बासिन्दाका लागि ५ लाख ४० हजार कित्ता शेयर छुट्टाइएको छ ।
२० कित्तादेखि ९ हजार कित्तासम्ममा आवेदन
तीनवटै समूहका बासिन्दाहरुको यस हाइड्रोपावर कम्पनीको शेयरमा न्यूनतम २० कित्तादेखि अधिकतम ९ हजार कित्तासम्म आवेदन गर्नसक्ने ब्यवस्था गरिएको आयोजनाको शेयर पाइने बिक्री प्रबन्धक काठमाडौं क्यापिटलले जनाएको छ । हाइड्रोपावर कम्पनीले अघि नै काठमाडौं क्यापिटललाई शेयर निष्काशक तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।
हाइड्रोपावर कम्पनीहरुले आयोजनाबाट प्रभावित बासिन्दाका लागि पहिलो चरणमा निष्काशन गर्ने शेयर आरक्षित गरेर निष्काशन गर्न गर्दछन् । स्थानीय बासिन्दाहरु त्यस क्षेत्रमा आयोजना सञ्चालन हुँदा त्यस आयोजनाबाट प्रतक्ष्य अप्रतक्ष्य रुपमा आयोजनाले प्रभाव पार्ने हुँदा आयोजनाबाट हुने आम्दानीमा स्थानीय जनताको हिस्सेदारी कायम रहोस् भन्ने उदेश्यले कानूनी रुपमा नै आरक्षण गर्ने व्यवस्था गरिएको छ ।
आरक्षणमा प्राप्त हुने भएकाले यस्तो शेयर बिक्री भएर बाँडफाँड गरेको तीन वर्षसम्म बिक्री वितरणका लागि बन्देज लगाइएको हुन्छ । यस्तै स्थानीय बासिन्दाहरुका लागि पहिलो चरणमा नै शेयर निष्काशन हुने हुँदा त्यस क्षेत्रका बासिन्दाले सर्वसाधारणका लागि निष्काशन हुने साधारण शेयरमा आवेदन गर्न समेत बन्देज लगाइने गरिएको छ ।
कहाँ कहाँबाट गर्न सकिन्छ आवेदन ?
स्थानीयहरुले ग्रीनलाईफ हाइड्रोपावर लिमिटेडको आयोजना स्थल, सेञ्चसरी कमर्सियल बैंक सिंगटी र चरिकोट शाखा तथा प्राइम कमर्सियल बैंकको शाखा कार्यालयहरु जिरी र मैनापोखरी शाखा कार्यालय मार्फत आवेदन गर्न सक्नेछन् ।
यस आईपिओमा आयोजना प्रभावित बासिन्दाले निष्काशन सुरु हुने दिन माघ २२ गतेदेखि छिटोमा १५ दिन अर्थात फागुन ७ गतेसम्म र डिलोमा ३५ दिन अर्थात फागुन २७ गतेसम्म आवेदन दिन पाउनेछन् ।
आईपिओ रेटिङ्गमा कमजोर
ग्रीनलाईफले निष्काशन गर्ने आईपिओका लागि केयर रेटिङ्गस् नेपालबाट क्रेडिट रेटिङ्ग गराएको छ ।
कम्पनीले आयोजना प्रभावित बासिन्दाका लागि जारी गर्ने आईपिओलाई केयर रेटिङ्ग नेपालले ग्रेड ४ रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय अवस्था औसतभन्दा कमजोर रहेको जनाउँछ । केयर नेपालले उक्त रेटिङ्गको अवधि एक वर्षसम्म कायम रहने जनाएको छ ।
कम्पनीको २०७४ पुस ३० गते सम्पन्न आठौं वार्षिक साधारण सभाबाट स्थानीयका लागि आईपिओ जारी गर्ने प्रस्ताव पारित भएकोमा धितोपत्र बोर्डबाट १७ गते अनुमति पाएको हो । कम्पनीले गत भदौ पहिलो साता आईपिओ निष्काशनको अनुमति माग्दै बोर्डमा निवेदन दिएको थियो।
सर्वसाधारणमा पनि १८ लाख कित्ता आउने
कमलपोखरी काठमाडौंमा प्रधान कार्यालय रहेको ग्रिनलाईफ हाइड्रोपावरमा संस्थापक समूहतर्फ जारी पूँजीको ८० प्रतिशत अर्थात एक अर्ब ४४ करोड रुपैयाँ पूँजी चुक्ता भैसकेको छ ।
पहिलो चरणमा स्थानीयलाइ निष्काशन आईपिओ बाँडफाँडपछि दोस्रो चरणमा पनि हाइड्रोले थप १८ लाख कित्ता सर्वसाधारणमा निष्काशन गर्ने जनाएको छ।
यस्तो छ आयोजना
कम्पनीले दोलखाको मार्बु गाविसमा ४० मेगावाटको खानिखोला १ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको कूल लागत ६ अर्ब ३९ करोड ३८ लाख अनुमान गरिएको छ । यसअनुसार प्रतिमेगावाट लागत १६ करोड पर्ने देखिन्छ ।
आयोजनाको हालसम्म ९५ प्रतिशत काम पूरा भएको छ । तर आयोजनास्थलदेखि नेपाल विद्युत प्राधिकरणको सव स्टेशन सिंगटीसम्म २५ किलोमिटर प्रसारण लाइन निर्माण हुन सकेको छैन । सिंगटी लामोसाँघु प्रसारण लाइनको काम पनि ग्रिन लाइफकै प्रबद्र्धकहरुले नै गरिरहे तापनि त्यसको पनि काम समयमा पूरा हुनेमा आशंका छ । यस कारण पनि एक वर्ष अघि यसको विद्युत उत्पादन हुनेमा आशंका छ ।
आयोजनाबाट साधारण लगानी फिर्ता हुन ७.४९ वर्ष र सिडस्काउन्टमा लगानी फिर्ता हुने अवधि १३.१६ वर्ष रहेको छ । नेपाल विद्युत प्राधिकरण र कम्पनीबीच यस आयोजनाबाट उत्पादन हुने विद्युत २०६८ भदौ १९ गते २०७५ चैत व्यापारिक विद्युत उत्पादन गर्नेगरी खरिद बिक्री सम्झौता भएकोमा २०७४ साउन १ गते पाँचौं संसोधन गरेको छ ।
ग्रीनलाईफ हाइड्रोपावर २०६६ असोज ४ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट कम्पनीको रुपामा दर्ता भई २०७४ असार ९ गतेदेखि पब्लिक कम्पनीको रुपमा रुपान्तरण भएको हो । कम्पनीले विद्युत विकास विभागबाट वि.सं. २०६८ बैशाखमा विद्युत उत्पादन गर्ने अनुमति पाएको छ। यसअनुसार उक्त अनुमति प्राप्त भएको मितिले ३५ वर्ष अर्थात विं.स. २१०१ बैशाखसम्म कायम रहनेछ ।
Be the first to comment on "माघ २२ देखि खानी खोलाको सेयर गौरीशंकर गाउँपालिका बासीलाई सेयर बम्पर"