८ करोड ६३ लाखमा चरिकोटमा मिलीजुली टावर

श्रृजनकुमार घिमिरे
चरिकोट, ७ भदौ
चरिकोटमा रहेको मिलीजुली बचत तथा ऋण सहकारी संस्थाले आफ्नै अत्याधुनिक भवन निर्माण सुरु गरेको छ । त्यसको बिहीबार ३ नं. प्रदेशका अर्थ तथा आन्तरिक मामिला मन्त्री कैलाश ढुङ्गेलले सिलान्यास गरे ।
चरिकोट बीच बजारमा निर्माण हुन लागेको भवनको मिलीजुलीको आफ्नो रजत जयन्तीको अवसरमा सिलान्यास गरेको हो । भवनको लागत ८ करोड ६३ लाख ५६ हजार ६ सय २७ रुपैँया हुने अध्यक्ष नारायणबहादुर श्रेष्ठले जानकारी दिए । ५ तले भवनलाई मिलीजुली टावर नामाकरण गरिएको छ ।
भवन शिलान्यास समारोहलाई सम्वोधन गर्दै मन्त्रि ढुँगेलले ‘समृद्ध नेपाल, सुखि नेपाली’ भन्ने नारालाई सफल पार्न सहकारी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताए । मन्त्री ढुँगेलले सहकारी मुलुकको अर्थतन्त्रको एउटा खम्बा भएको भन्दै कृषिमा व्यवसायीकरण, उत्पादन र रोजगारी सिर्जना गर्न स्थानीय सरकारसँग मिलेर काम गर्न सहकारी क्षेत्रलाई सुझाव दिए ।
चरिकोट बीच बजारमा सँस्थाको नाममा रहेको २० आना जग्गामा बन्ने भवन निर्माणका लागि केही महिना भित्र ठेक्का आव्हान हुने अध्यक्ष श्रेष्ठले जानकारी दिए । लिफ्ट सिस्टम र अपाङ्ग मैत्री प्रविधिको मिलिजुली टावर दोलखा जिल्लाका सहकारी सँस्थाहरुले निर्माण गरेका भवनहरु मध्ये सवैभन्दा अत्याधुनिक र महँगो पनि हुनेछ ।
बाल बचतकर्ता सहित करिव २५ हजार शेयर सदस्य रहेको मिलिजुली साकोसको करिव ८६ करोड कारोवार छ । यसअघि पनि मिलिजुली साकोसको चरिकोट बजारको माथिल्लो क्षेत्रमा आफ्नै भवन थियो । तर, सो भवन अपायक भएको भन्दै २०७२ सालमा ८३ लाख १० हजार विक्रि गरेर मुख्य बजार क्षेत्रमा १ करोड ३९ लाख रुपैयाँमा २० आना जग्गा खरिद गरिएको थियो ।
अहिले सहकारी भाडाको घरबाट कार्यालय सञ्चालन गर्दै आएको छ । मिलीजुलीले पछिल्लो पटक साना सहकारीहरुसँग एकीकरण गर्दै आफ्नो कार्यक्षेत्र समेत विस्तार गर्दै लगेको छ । पछिल्लो केही दिन अघि कालिन्चोक गाउँपालिका वडा नं. ३ पोखरे, लामीडाँडामा रहेको लामपोखरी कृषि सहकारीसँग एकीकरण सम्झौता गरेको छ । यससँगै मिलीजुलीमा गाभिने सहकारीको संख्या ६ वटा हुन्छ ।
यसैवीच, मिलिजुली साकोसले रजत जयन्ती वर्ष समापन, २६ औं स्थापना दिवस र भवन शिलान्यास कार्यक्रमको अवसरमा सहरकारी क्षेत्रमा योगदान पु¥याउने ६ जना सहकारी अभियान्ताहरुलाई सम्मान पनि गरेको छ । मिलिजुली साकोसले सहकारीको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै नेफ्स्कुनका केन्द्रीय अध्यक्ष डिवि बस्नेत, सहकारी अभियान्ताहरु यज्ञराज ढुंगेल, गोकुलध्वज कार्की, मिलिजुलीका संस्थापक अध्यक्ष रामदास श्रेष्ठ र पूर्व अध्यक्ष गंगासागर श्रेष्ठ र निवर्तमान अध्यक्ष कृष्णबहादुर दाहाललाई सम्मान पनि गरेको छ ।
कार्यक्रममा प्रतिनिधि सभाका सांसद पार्वत गुरुङ, पूर्वमन्त्री आनन्दप्रसाद पोखरेल, प्रदेश सभाका साँसदहरु पशुपति चौंलागाई र बिशाल खड्का, प्रतिनिधि सभाका साँसद शान्तिमाया पाख्रिन, प्रदेश सभाका साँसद सरस्वती बस्नेत, काँग्रेस जिल्ला सभापति रुद्रवहादुर खड्का, नेपाल कम्युनिष्ट पार्टी दोलखाको अध्यक्षमा शिफारिस भएका नेता भिमप्रसाद दाहाल तथा नेपाल उद्योग वाणिज्य महासँघका केन्द्रीय सदस्य सुदर्शन कार्की र नेपाल पत्रकार महासँघ दोलखा शाखाका अध्यक्ष जीवन लामा मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा मिलिजुली स्मृति नामक स्मारिकाको बिमोचन पनि गरिएको छ ।
मिलीजुलीले गत आर्थिक वर्षमा सिंगटी, बाघखोर बजार, बोच, सुनखानी, नाम्दू र फस्कुमा सेवा केन्द्र समेत सुरु गरिसकेको छ ।

Shares

Be the first to comment on "८ करोड ६३ लाखमा चरिकोटमा मिलीजुली टावर"

Leave a comment

Your email address will not be published.


*