अप्पर तामाकोसी सेयर संकलनको मितिमा पुर्नविचार हुने

दोलखा, १८ असार
माथिल्लो तामाकोसीको आयोजना प्रभावितका लागि दोस्रो पटक अप्पर तामाकोसी हाइड्रोपावर कम्पनीले सेयर निष्काशन आव्हान गरेको मिति पुर्नविचार गर्न स्थानीय जनप्रतिनिधिहरुले माग गरेका छन् । दोलखा जिल्ला समन्वय समिति चरिकोटमा सोमबार दोलखाका ९ वटै स्थानीय तहका प्रमुख र उपप्रमुख सहितको बैठकले सेयर संकलनको मिति केही दिन पर सार्न माग गरेका हुन् ।
जनप्रतिनिधिहरुको बैठकले स्थानीय (दोलखाबासी)का लागि आउँदो साउन १६ गतेदेखि भदौ १४ गतेसम्म संकलन गर्न माग गरेको हो । यस अघि जारी आव्हान पत्रमा असार २४ गतेदेखि साउन ९ गतेसम्म सेयर संकलनको लागि सूचना जारी भएको छ ।
बैतेश्वर गाउँपालिकाका उपाध्यक्ष रविचन्द्र आचार्यले असार मसान्तमा सबै आर्थिक वर्षको हिसाव मिलान, साउनको पहिलो हप्ता पनि लगानी सुरु नभएकाले मिति केही पर सार्नका लागि अनुरोध गरेको बताए । वर्षाको बेला पनि भएको र किसानहरु पनि असारे खेतीमा व्यष्त हुनु पर्ने हुनाले मिति हेरफेर गर्न आग्रह गरेको उनले बताए ।
त्यसैगरी सेयर लगानीमा बढी सहभागीता जनाउनका लागि काठमाडौंमा पनि संकलन केन्द्रको व्यवस्था गर्न परिवारको एकै व्यक्तिको खाताबाट सबैको सेयर हाल्ने व्यवस्था गर्न समेत माग गरेका छन् । धितो पत्र ऐन २०७३ मा धितो पत्र खरिद बिक्रीलाई सरल र व्यवस्थित गर्न सिआश्वा प्रणाली लागू भए तापनि स्थानीय जनप्रतिनिधि, दलका नेताहरुकै दबाबमा लाइन बसेर लगानी गर्नु पर्ने पुरानो प्रणालीको माग गरेका हनु् । यसबाट लगानीकर्ताले पछि किनबेच गर्ने बेलामा दुःख पाउने शेयर विश्लेसकहरुको भनाई छ ।
अप्पर तामाकोसी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले जनप्रतिनिधिका मागलाई आफूले सकारात्मक रुपमा लिएको प्रतिक्रिया दिए । “जनप्रतिनिधिहरुको माग सकारात्मक नै छन्”, उनले भने “धितो पत्र बोर्डको स्वीकृत पाएको २ महिना भित्र सेयर संकलन सुरु गर्नु पर्ने कानुनी बाध्यता छ, त्यो भित्र भए छलफल गर्न सकिन्छ ।” धितो पत्र बोर्डले जेठ २३ गते स्वीकृत पाएको हो । धितोपत्र बोर्डबाट स्वीकृत पाए सेयर निष्काशनकर्ता नागरिक लगानी कोष र सनराइज क्यापिटलले सेयर आव्हान गरेका हुन् ।

मिति सार्नुभन्दा समय थप्नु बेस
आयोजनाको स्थानीयका लागि जारी गरेको सेयर संकलनको मिति सार्नुभन्दा समय थप गर्नु बेस हुने सेयर विश्लेसकहरुले सुझाव दिएका छन् । पटक पटक जारी हुँदै स्थगित हुँदै आएको तामाकोसीको सेयर लगानीको लागि पुनः मिति सार्दा अन्यौल हुने हुँदा जुन मितिमा सुरु भएको छ त्यसैलाई समय थप गरेर साउनभर वा भदौ १४ सम्मै पु¥याउन सकिने अवस्था छ । नागरिक लगानी कोषका एक सेयर विश्लेशकले जनताहरु सेयर खुल्यो भनेर एक किसिमको मानसिक रुपमा तयारी भएकाले सयम थप गर्नु नै बेस हुने उनले बताए ।
चिलिमे जलविद्युत आयोजनाका लागि पनि रसुवाबासीका लागि ३७ दिन सेयर संकलनका लागि समय लागेको थियो । अप्पर तामाकोसी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृ विज्ञानप्रसाद श्रेष्ठले कम्पनी, धितोपत्र बोर्ड लगायत सरोकारवालासँग छलफल गरेर उचित निर्णय गरिने बताए ।
सेयर वितरण प्रक्रिया कानुन अनुसार भएको बताए । धितोपत्र ऐन २०७३ अनुसार सेयर आवेदन संकलनका लागि ३५ दिनसम्म म्याद राख्न पाउने हुनाले दोलखाबासीका लागि पनि अप्पर तामाकोसीको सेयरमा आवेदन दिन ३५ दिनसम्म म्याद राख्न सकिने बताए ।
अहिले आव्हान भएको सेयरमा असार २४ गतेदेनि साउन ९ गतेसम्म १८ दिन छ । एउटै सुचनामा ३५ दिन नै राख्दा आवेदन अन्तिमममा मात्र परेर प्रयाप्त रकम संकलन नहुने आशंकाले थोरै दिन राखेको बताए । सकेसम्म धेरै दोलखाली अप्पर तामाकोसीको सेयरमा सहभागी गराउन म्याद थप हुन सक्ने बताए ।
प्रदेश सभा सदस्य पशुपति चौलागाई र विशाख खड्काले पनि समय पुर्नविचार गर्न प्रदेश सभामा समेत कुरा उठाएका छन् । स्थानीय नागरिक समाजका प्रतिनिधिले समेत पुनःविचार गर्न माग गरेर ज्ञापन पत्र बुझाइसकेको छ ।
यस अघि जनप्रतिनिधिहरुले नै तामाकोसी आयोजना पक्षलाई सेयर निष्काशन नरोक्न निर्देशन दिंदै आएका थिए । स्थानीयको सेयर संकलन नगरी सर्वसाधारणको १५ प्रतिशत सेयर संकलन गर्न पाइन्न । सर्वसाधारण १५ प्रतिशत र जिल्लाबासीको १० प्रतिशत गरी २५ प्रतिशत सेयर संकलन गर्नु पर्छ । त्यसवापत २ अरब ६४ करोड हुन्छ ।
सेयर संकलन ढिला हुँदा आयोजनालाई मासिक २ करोड ६४ लाख व्याज भुक्तानी गर्नु पर्छ । आयोजनाको हालसम्म ४० अरब खर्च भइसकेको छ । स्थानीय र सर्वसाधारणको सेयर संकलन नभए आयोजनाका लागि भुक्तानी मै समस्या हुने देखिन्छ ।
आयोजनाले २०६९ मै सेयर निष्कासन तयारी थालेको थियो । तर जिल्लास्तरीय समन्वय समितिमा बसेका राजनैतिक दलका नेताहरुले नै संस्थापक सेयर लिने कि साधारण सेयर भन्ने बुझ्नै २ वर्ष लाग्यो । अन्ततः साधारण सेयर नै भन्ने बुझाइ भयो र त्यसैमा सहमति भयो । त्यसपछि २०७१ मा सेयर निष्काशन प्रक्रिया सुरु भएको हो ।

Shares

Be the first to comment on "अप्पर तामाकोसी सेयर संकलनको मितिमा पुर्नविचार हुने"

Leave a comment

Your email address will not be published.


*