चरिकोट–माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सेयर दसैंपछि मात्र निश्कासन हुने भएको छ । धितो पत्र बोर्डले स्वीकृती दिन ढिला हुँदा वर्षा अघि नै निष्कासन गर्ने योजना बनाएको सेयर अब दसैंपछि मात्र निष्कासन हुने भएको छ ।
सेयर जारीका लागि स्वीकृति अन्तिम लिन धितोपत्र बोर्डमा फाइल ढिला पुगेकाले बोर्डले समेत निर्णय दिन ढिला गरेको थियो । सोमबार बोर्डको निर्देशन अनुसारको प्रतिवेदन मिलाएर अप्पर तामाकोसी हाइड्रोपावर कम्पनीले फाइल बोर्डमा पेश गरेको छ ।
नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरिले तामाकोशी आयोजनाको सेयर जारीको फाइल सोमबार मात्र आइपुगेको बताए । ‘फाइल सोमबार) मात्र आएको छ, हामी अध्ययन गर्छौं,’ कार्यकारी निर्देशक गिरिले भने, ‘१ महिनाभित्र स्वीकृति पाउन सक्छन् ।’ तामाकोशी आयोजनाको सेयर खुल्ने भन्दै दोलखाका अधिकांश बैङ्क र क्यापिटल र ब्रोकर कम्पनीहरुले गाउँ गाउँमा गएर डिम्याट खाता खोलेका थिए । चैत्र मसान्तभित्र सेयर जारी हुने हल्लाकै कारण दोलखाका धेरै स्थानीयहरुले बैङ्क खातासमेत खोलिसकेका छन् । दोलखामा मात्र गत फागुनदेखि माथिल्लो तामाकोसीको सेयरकै लागि भनेर ३० हजारभन्दा बढी डिम्याट खाता खुलिसकेको छ ।
दोलखाको गौरीशङ्कर गाउँपालिका १ लामाबगरमा निर्माण भइरहेको ४ सय ५६ मेगावाटको तामाकोशी आयोजनाले दोलखाबासीका लागि १० प्रतिशत सेयर छुट्याएको छ । आयोजना निर्माणको अन्तिम चरणमा पुग्न लाग्दा समेत स्थानीयलाई सेयर जारी नगरेको भन्दै चौतर्फी विरोध भएको थियो । त्यही विरोधलाई साम्य पार्न आयोजनाले सेयर जारीको मिति पटक पटक सार्दै आएको छ ।
धितोपत्र बोर्डले सेयर जारीका लागि स्वीकृति नदिएकै कारण सेयर जारी गर्न नसकिएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डाक्टर गणेश न्यौपानेले जानकारी दिए । ‘हामीले जनतालाई झुक्याएका छैनौं,’ आयोजनाका प्रवक्ता न्यौपानेले भने, ‘स्वीकृति पाउने बित्तिकै जारी गर्छौं ।’ सेयर जारीका लागि आवश्यक फाइल धितोपत्र बोर्डमा पेस भइसकेको बताउँदै बर्खाअघि सम्भव नभएको बताए ।
दोलखाबासीहरुले मात्र १ अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको सेयर लिन पाउने छन् । नेपाल विद्युत् प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६, नागरिक लगानी कोष तथा राष्ट्रिय बिमा संस्थानको २ – २ प्रतिशत, कर्मचारी सञ्चयकोषको १७.२८, सर्वसाधारणको १५, कर्मचारी सञ्चय कोषका कर्मचारीको २.८८, कम्पनी र प्राधिकरणका कर्मचारीको ३.८४ प्रतिशत सेयर हुनेछ । तीमध्ये कर्मचारी सञ्चय कोषको सेयर जारी भइसकेको छ ।
२०७१ सालमा तत्कालीन जिल्ला विकास समितिले गरेको सर्वेक्षणअनुसार दोलखाको जनसङ्ख्या २ लाख ८२ हजार १ सय २५ छ । त्यसमध्ये अति प्रभावित ‘क’ वर्गमा ४ हजार ४ सय ३२, प्रभावित ‘ख’ वर्गमा ८१ हजार ९ सय ९९ र जिल्लाको बाँकी क्षेत्रको जनसङ्ख्या १ लाख ९५ हजार ६ सय ९४ छ । आयोजनाको हालसम्म ९६ प्रतिशत काम पूरा भइसकेको छ ।
Be the first to comment on "तामाकोसीको सेयर दर्सैपछि मात्र"