सहरभन्दा गाँउमा धेरै बने घर

विश्वदीप थपलिया
चरिकोट, २९ माघ
दोलखाका सहरभन्दा गाउँमा घर निर्माण बढेको छ । भुकम्पले भत्केका घर पुर्ननिर्माण अभियानमा सहरभन्दा गाउँको प्रगति राम्रो देखिएको छ । दोलखा जिल्लाको ९ वटा स्थानीय तह मध्ये वैत्यश्वर गाँउपालिका निजी आवास निर्माणमा अग्रस्थानमा देखिएको छ भने भीमेश्वर नगरपालिका सबैभन्दा पछि परेको छ ।
जिल्ला समन्वय समिति दोलखाबाट एक हप्ता अघि प्राप्त तथ्याङ्क अनुसार बैत्यश्वर गाउँपालिकामा १ हजार ५ सय ३८ घर निर्माण पूरा भई तेस्रो किस्ता समेत भुक्तानी लिइ सकेका छन् । तर पुर्ननर्मिाण प्राधिकरण लगायत पुर्ननिर्माण सम्बन्धि सबै निकायको जिल्लास्तरीय मुख्यालय रहेको भिमेश्वर नगरपालिकामा जम्मा २ सय १ घरधनीले मात्र तेस्रो किस्ता भुक्तानी लिएका हुन् ।
धेरै घर निर्माण हुनेमा गौरीशंकर गाउँपालिका दोस्रो स्थानमा परेको छ । गौरीशंकरमा १ हजार १ सय ६९ पूरा भएका छन् । तोकिएको मापदण्ड पूरा गरी निजी आवास निर्माण गरेर तेस्रो किस्ता लिनेहरुमा कालिञ्चोक गाउँपालिकामा ९ सय ३२, तामाकोशी गाउँपालिकामा ८ सय ४७ , मेलुङ्ग गाउँपालिकामा ६ सय १८, शैलुङ्गमा ४ सय ५५, विगुमा ३ सय ९४ र जिरीमा २ सय ५८ जनाले तेस्रो किस्ता लिएका छन् ।
भुकम्पीय आवास पुर्न निर्माणले तयार पारेको विवरण अनुसार दोलखामा हालसम्ममा २५ हजार २ सय ९२ घरधनीले दोस्रो किस्ता लिएका छन् । दोस्रो किस्ता लिनेमा पनि वैत्यश्वर अग्रस्थानमा रहेको छ भने भीमेश्वर पछाडी नै रहेको छ । विगू गाउँपालिकामा घरहरु धेरै भए तापनि अनुदानको किस्ता लिन रामेछाप जानु पर्ने र बैंकका विभिन्न झण्झटले गर्दा भुक्तानी लिनेको संख्या थोरै देखिएको गाउँपालिका अध्यक्ष युधिष्टिर खड्काले बताए ।
‘ओराङ र बुलुङ ९० प्रतिशतभन्दा बढी पूरा भएको छ’ उनले भने ‘अरु ६ वटा वडामा पनि आधाभन्दा बढी घर बनिसकेका छन् ।’ बैंकको समस्या पनि यो महिनाबाट समाधान भएकाले अर्को महिना यो तथ्याङ्क राम्रो देखिने राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण दोलखा सचिवालय प्रमुख सागर आचार्यले बताए ।
दोलखामा ५७ हजार ७ सय ४४ ले अनुदान सम्झौता गरीसकेका छन । दोलखामा हलसम्ममा ७ हजार ९ सय १३ ले तेस्रो किस्ता लिएका छन भने र ५५ हजार १ सय १४ ले पहिलो किस्ता लिइसकेका छन । दोस्रो किस्ता लिने म्याद पुस मसान्तसम्म पहिलो भनिएकाले पनि पछिल्लो समय घर निर्माणले जिल्लाभर गति लिएको छ । माघ महिनामा घर निर्माण अझ बढेको प्राधिकरण प्रमुख आचार्यले बताए ।

Shares

Be the first to comment on "सहरभन्दा गाँउमा धेरै बने घर"

Leave a comment

Your email address will not be published.


*