दोलखा, २१ माघ
माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको निवेदन ५ महिनादेखि नेपाल राष्ट्र बैंकले सुनुवाइ गरेको छैन । विदेशी मुद्रा सटहीमा समस्या भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई आवश्यक सहयोग गरिदिन गरेको अनुरोध भए अनुसार आयोजनाले २०७४ असोज ८ गते राष्ट्र बैंकमा सटही सुविधाका लागि निवेदन पेश गरेको छ । तर निवेदन ५ महिना वितिसक्दा समेत स्वीकृती पाउन नसकेको आयोजना पक्षले बताएको छ ।
निर्माणाधिन माथिल्लो तामाकोसी जलविद्युत आयोजना पूरा हुन लाग्दा समेत विदेशी मुद्रा सटहीको समस्या समाधान हुन सकेको छैन । ४५६ मेगावाट क्षमताको स्वदेशी लगानीमा निर्माणाधिन आयोजना भए तापनि अधिकाँश भुक्तानी विदेशी मुद्रामै गर्नु पर्छ । आयोजनामा परामर्शदाता र निर्माण कम्पनीहरु विदेशी भएकाले भुक्तानी पनि अमेरिकी डलर र युरोमा गर्नु पर्छ ।
आयोजनाको कामको प्रगति अनुसार बील र प्रमाण पत्र अनुसार परामर्शदाताहरुलाई विदेशी मुद्रामा भुक्तानी गर्नु पर्छ । तर हरेक पटक भुक्तानीका लागि नेपाल राष्ट्र बैंकको स्वीकृती लिनुपर्ने झन्झट छ । त्यसमा पनि भुक्तानीका लागि राष्ट्र बैंकले स्वीकृति दिनै १० देखि १५ महिना लगाउने गरेको आयोजनाका प्रबद्र्धक अप्पर तामाकोसी हाइड्रोपावर कम्पनीले जनाएको छ ।
आयोजनाको सिभिल निर्माण कम्पनी सिनो हाइड्रो कर्पोरेशन र परामर्शदाता कम्पनीलाई मासिक रुपमा र अन्यलाई आवधिक रुपमा (३÷४) महिनामा बील अनुसार भुक्तानी गर्नु पर्छ । कम्पनी सचिव श्रेष्ठले भने ‘हामीले निवेदन दिएपछि ताकेता पनि जारी राखेका छौं, हेरौं चाडौं समाधान हुन्छ होला ।’ तर राष्ट्र बैंकका शाखा र महाशाखाहरुमा नया पदाधिकारीहरु फेरिदा स्वीकृति पाउँन झन ढिलाइ हुने गरेको छ ।
विदेशी मुद्रा सटहीको समस्या माथिल्लो तामाकोसीमा मात्र नभएर अन्य ठूला आयोजनाहरु पनि हैरान छन् । समस्या लिएर सल्लाह लिन आउन धेरै आयोजनाहरुलाई आफ्नो आयोजनाले अपनाएका विधि सहितका सल्लाह दिने गरेको उनले बताए ।
आयोजनाको सिभिल निर्माणका लागि चीनको सिनो हाइड्रो कर्पोरेशनले काम गरिरहेको छ । उसलाई ३५ प्रतिशत नेपाली रुपैया र ६५ प्रतिशत अमेरिकी डलरमा भुक्तानी गर्नु पर्छ । सिनोसँग २०६७ साउन १६ मा ठेक्का सम्झौता भएको हो । उसले २०७१ चैतसम्म काम पूरा गर्नु पर्ने थियो । विभिन्न कारणले समयमा काम पूरा हुन नसकेपछि पहिलो पटक २०७३ असोज १४ र दोस्रो पटक २०७५ असार १६ सम्मको म्याद थप भएको छ ।
त्यस्तै हाइड्रोमेकानिकल ठेक्काका लागि भारतीय कम्पनी टेक्स्म्याको रेल एण्ड इञ्जिनियरिङ लिमिटेडसँग २०६८ फागुन १६ गते ठेक्का सम्झौता भएको हो । २०७२ बैशाखमा काम पूरा गर्नु पर्ने भए तापनि उसको पनि पहिलो पटक म्याद थप भएर २०७५ असारसम्म पु¥याएको छ । उसलाई पनि २९ करोड २० लाख नेपाली रुपैंयामा र १ करोड ५ लाख ७४ हजार युरोमा भुक्तानी गर्नु पर्छ ।
मेकानिकल तथा इलेक्ट्रिकलका लागि अष्ट्रियाको एन्द्रिज हाइड्रो जिएमबीएच, प्रसारण लाइन तथा सवस्टेशनको भारतको केइसी इन्टरनेशनल लिमिटेड रहेका छन् । आयोजनाको अन्तिम डिजाइन, आयोजना व्यवस्थापन मुख्य लटहरुको प्राविधिक सुपरिवेक्षणका लागि परामर्शदाताको रुपमा नर्वे र जर्मन कम्पनी नरकन्सल्ट एएस÷ल्याहमेर इन्टरनेशनल जेभीले पाएका छन् । उनीहरुको भुक्तानी पनि २५ प्रतिशत नेपाली रुपैंया र बाँकी डलरमै गर्नु पर्छ ।
मुद्रा सटहीमै माथिल्लो तामाकोसी हैरान
विदेशी मुद्रा सटहीको समस्या सुरुदेखि नै भए तापनि आयोजना पूरा हुने बेलासम्म समाधान भएको छैन । आयोजनाको ठेक्का सम्झौता गरी औपचारिक निर्माण सुरु भएको ७ वर्ष पूरा भइसकेको छ । आयोजनाले विदेशी मुद्रा सटही सुविधा पाउनका लागि १० वर्ष अघि नै अर्थ मन्त्रालय, राष्ट्र बैंक लगायतका निकायमा अनुरोध गर्दै आएको छ ।
आयोजनाकै अनुरोध बमोजिम २०६६ साउन २ गते अर्थ मन्त्रालयको सचिवस्तरीय निर्णयबाट २९ करोड ५९ लाख ५७ हजार ९८७ अमेरिकी डलरसम्मको सटही सुविधा दिएको थियो । तर त्यसमा पटके सुविधा लिनु नपर्ने व्यवस्था भए माथिल्लो तामाकोसी जस्ता आयोजनाहरुका लागि सजिलो हुने अप्पर तामाकोसी हाइड्रोपावर कम्पनीका कम्पनी सचिव रामसुन्दर श्रेष्ठले बताए । त्यस कारण पनि समस्या जिउँकातिउँ छ ।
आयोजना व्यवस्थापन पक्षले विदेशी मुद्रा सटही सरल बनाउन पटक पटक विभिन्न निकायमा हार गुहार गर्दा समेत समाधान हुन सकेन । यस बारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट २०७३ जेठ ३० गते नेपाल राष्ट्र बैंकलाई आवश्यक सहयोग गरिदिनका लागि छलफल समेत गरी दियो । त्यसबाट समस्या समाधान हुनेमा आयोजना पक्ष ढुक्क भयो तर समस्या फेरि उही भए ।
दोलखालीका लागि १ अर्व ५ करोडको सेयर जारी हुँदै
आयोजनाले २ अर्व ६४ करोड बराबरको सेयर जारी गर्ने भएको छ । आयोजना निर्माण गरिरहेको ‘अप्पर तामाकोसी हाईड्रो पावर लिमिटेड’ ले २ अर्व ६४ करोड रुपैयाँको (२ करोड ६४ लाख कित्ता) सेयर जारी गर्ने भएको हो । त्यसमध्य स्थानीयलाई १ अर्व ५ करोड र अन्य सर्वसाधारणलाई १ अर्व ५८ करोड रुपैयाँको सेयर दिने कम्पनीले जनाएको छ । माथिल्लो तामाकोसी आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेका अनुसार फागुन अन्तिम सातादेखि चैत्रको पहिलो साता सम्म सेयर निश्काषन भईसक्ने छ । धितोपत्र बोर्डको स्विकृति आउना साथ सेयर निक्काषनका लागि आवस्यक प्रक्रिया अघि बढ्ने छ ।
प्रभावित क्षेत्रले बढी सेयर पाउने
आयोजना निर्माणको क्रममा भएको प्रभावका दृष्टिले दोलखावासीलाई तिन वर्गमा बाँडेर सोही अनुसार सेयर लगानीको अवसर दिईने छ । जस अनुसार आयोजनाका मुख्य सँरचनाहरु रहेको लामावगर र गौरीसँकरका बासिन्दा क बर्ग, सडक मार्ग र प्रसारण लाईनले छुने क्षेत्रका बासिन्दा ख वर्ग र अन्य जिल्लावासी ग बर्गमा पर्ने छन् । ग वर्गमा परेका नागरिकले न्यूनतम ५० कित्ता सेयर लगानी गर्न पाए भने क वर्गकाले १ सय ५० कित्ता सम्म सेयर खरिद गर्न सक्ने छन् ।
लागत निरन्तर बृद्धि
कम्पनीले ऋणदाता कम्पनीका लागि भने यसअघि नै २ अर्व ५४ करोड बराबरको सेयर जारी गरिसकेको छ । कम्पनीले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, दुरसञ्चार प्राधिकरण र राष्ट्रिय विमा संस्थानबाट करिव २० अर्व रकम ऋण लिएको छ । राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी आयोजनाको गत भदौसम्म ९० प्रतिशत काम सम्पन्न भएको छ ।
हाल प्रति मेगावाट १४ करोड ४० लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको निर्माण अवधी बढेपछि लागत समेत बढ्ने भएको छ । हालको अन्तिम प्रक्षेपण अनुसार आयोजनाको लागत बढेर ६५ अर्व ८६ करोड रुपैयाँ पुगेको छ । बढ्दो व्याजदर र विनिमय दरका कारण कम्पनीको दायित्व बढेकाले लागत बढेको आयोजनाले जनाएको छ । ४४ अर्व ९८ करोड खर्च भईसकेको आयोजनामा ३९ अर्व ऋणबाट लिईएको छ । आयोजनाबाट उत्पादित विद्युत प्रशारण लाईनमा जोडिएसँगै सरकारले प्रतिमेगावट ५० लाख रुपैयाँको दरले अनुदान दिनेछ ।
Be the first to comment on "माथिल्लो तामाकोसीको निवेदन ५ महिनादेखि अलपत्र,दोलखालीका लागि सेयर जारी हुँदै"