कांग्रेससँग सत्ता साझेदारी चुनावसम्मै रहनेछ ः एमाले सचिव भट्टराई

चरिकोट (दीस) ः नेकपा एमालेका सचिव योगेश भट्टराईले सत्ता साझेदारी नेपाली कांग्रेससँग आगामी चुनावसम्म रहने बताउनु भएको छ । निजी भ्रमणका लागि दोलखा आउनु भएका भट्टराईले प्रेस चौतारीले बुधबार चरिकोटमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सो कुरा बताउनु भएको हो। उहाँले वर्तमान कांग्रेस–एमालेको गठबन्धन सरकार २०८४ सम्मै रहे पनि निर्वाचनमा भने छुट्टाछुट्टै प्रतिस्पर्धा गर्ने जानकारी दिनु भयो ।
विगतमा रहेका ऐन कानुनले काम गर्न ढिलासुस्ती भएको कारण सरकारले बाध्य भएर अध्यादेश ल्याउनु परेको उहाँले बताउनु भयो । अहिले जारी भएका अध्यादेश माघमा बस्ने संसदको बैठकमा छलफल हुने उहाँको भनाई रहेको छ ।
नयाँ सरकार निर्माणसँगै अर्थतन्त्र बलियो हुँदै गएको उहाँले दाबी गर्नु भयो । देशमा अहिले वैदेशिक सञ्चिति पर्याप्त रहेको र सरकारले मुद्रास्फीति ५ प्रतिशतमा नै राख्न सफल भएको उहाँको भनाइ रहेको छ । आर्थिक वृद्धिदर पनि विश्व बैंकले गरेको प्रक्षेपणअनुसार नै रहेको दाबी गर्दै देशको अर्थतन्त्र लयमा रहेको उहाँले जिकिर गर्नु भयो। “नयाँ सरकार निर्माणसँगै शेयर बजार सुधारात्मक भएको छ, लगानीकर्ता उत्साहित छन्,” उहाँले भन्नु भयो।
अर्को प्रसंगमा, स्थानीय तहको संख्या ठूलो हुँदा खर्च बढेको बताउँदै उहाँले संख्या घटाउने विषयमा छलफल भइरहेको दाबी गर्नु भयो। उहाँले पाँच सयको हाराहारीमा स्थानीय तह निर्माण गरी वडालाई बढाउनुपर्ने बताउनु भयो। नेपाली युवाहरूले आईटी क्षेत्रमा राम्रो प्रगति गरेको उल्लेख गर्दै भट्टराईले यो क्षेत्रबाट युवाहरूले बर्षेनी एक खर्बभन्दा बढी रकम देश भित्र्याउने गरेको बताउनु भयो।
पार्टीका तीन नेतालाई गरिएको कारबाहीका सन्दर्भमा नेता भीम रावललाई निष्कासन गरिएको विषय दुःखद भए पनि पार्टी अनुशासनको हिसाबले स्वाभाविक रहेको बताउनु भयो। रावललाई तीन वर्षदेखि पार्टीमा राख्ने प्रयत्न गरिएको भए पनि उहाँले पार्टीसँगको अनुबन्ध तोड्न चाहेपछि निष्कासन गरिएको जिकिर गर्नु भयो । “पार्टीमा प्रवेश गर्ने ढोका सधैं खुला हुन्छ,” सचिव भट्टराईले भन्नु भयो, “तर निस्कने ढोका भने कहिलेकाहीँ मात्र खुल्ने हो, जुन भीम रावलको लागि खोलिएको छ ।” पार्टी भित्र बस्न पाटीको अनुशासन पालना सबैले गर्नु पर्ने बताउनु भयो ।
सरकारले चीनसँगको बीआरआई सम्झौता सरकारको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको विषय दूतावास र परराष्ट्र मन्त्रालय परामर्शमै रहेको बताउनु भयो । सरकारले दुबै छिमेकीसँग बराबरको सम्बन्ध राखेको बताउँदै वर्तमान सरकार पञ्चशीलको सिद्धान्तअनुसार आफ्ना काम कारबाही अघि बढाउँदै गएको उहाँको भनाइ रहेको छ ।

Shares

Be the first to comment on "कांग्रेससँग सत्ता साझेदारी चुनावसम्मै रहनेछ ः एमाले सचिव भट्टराई"

Leave a comment

Your email address will not be published.


*