अस्ट्रेलियाविरुद्धको चौथो टेस्टमा भारतको खराब जवाफ

काठमाडौँ –भारतले अस्ट्रेलियाविरुद्धको चौथो टेस्टमा खराब जवाफ फर्काएको छ । अस्ट्रेलियालाई पहिलो इनिङ्समा ४७४ रनमा अलआउट गर्दै आफ्नो इनिङ्स थालेको भ्रमणकारी टोलीले दोस्रो दिनको खेलको समाप्तिमा ५ विकेट गुमाएर १६४ रन बनाएको छ । भारत अझै ३१० रनले पछि छ ।

ओपनर यशस्वी जैसवालले ८२ रन बनाएपनि अन्यको प्रदर्शन उल्लेख्य हुन नसक्दा भारतको इनिङ्स धर्मराएको हो । विराट कोहली ३६, लोकेश राहुल २४ र क्याप्टेन रोहित शर्मा ३ रनमा आउट हुँदा आकाश दीपले खातै खोल्न पाएनन् । रिशभ पन्त ६ र रविन्द्र जडेजा ४ रनमा नटआउट छन् ।

कंगारु टोलीका लागि प्याट क्युमिन्स र स्कट बोलान्डले समान दुई विकेट लिएका छन् ।

यसअघि मेलबर्नमा ६ विकेटको क्षतिमा ३११ रनबाट दोस्रो दिनको खेल थालेको अस्ट्रेलिया ४७४ रनमा अलआउट भएको थियो । स्टेभन स्मिथले १४० रन बनाउँदा क्याप्टेन प्याट क्युमिन्स अर्धशतक बनाउनबाट एक रनले चुके । पहिलो दिन बिहीबार साम कोन्सटास, उस्मान खवाजा र मार्नुस लाबुस्चेनले अर्धशतक बनाएका थिए ।

भारतका तर्फबाट बलिङमा जसप्रित बुमराहले ४, रवीन्द्र जडेजाले ३, आकाश दीपले २ र वासिन्टन सुन्दरले एक विकेट लिए ।

५ खेलको शृंखला १-१ को बराबरीमा छ। पहिलो टेस्टमा भारत २९५ रनले र दोस्रोमा अस्ट्रेलिया १० विकेटले विजयी भएको थियो। वर्षाले प्रभावित तेस्रो टेस्ट भने बराबरीमा सकिएको थियो।

Shares

Be the first to comment on "अस्ट्रेलियाविरुद्धको चौथो टेस्टमा भारतको खराब जवाफ"

Leave a comment

Your email address will not be published.


*