चरिकोट (दीस) ः पार्टीको आन्तरिक सुदृढीकरण अभियान अन्र्तगत नेकपा माओवादी केन्द्र दोलखाले जिल्ला भित्रका स्थानीय तहका पालिका कमिटी र वडा कमिटीमा सम्मेलन मार्फत नेतृत्व चयन गर्न थालेको छ । हालसम्म सो पाटीले गौरीशंकर गाउँपालिकाको सबै वडा कमिटीको सम्मेलन सक्दै नयाँ नेतृत्व चयन गरेको छ । विगु गाउँपालिकामा पनि धमाधम वडा सम्मेलन भई रहेको सो पार्टीले जनाएको छ । जिल्लाका अन्य पालिकाका वडा कमिटीमा समेत नयाँ नेतृत्व चयनको प्रक्रिया अगाडि बढिरहेको जनाइएको छ । जिल्लामा रिक्त रहेका पालिका कमिटी तथा पालिका भित्र रहेका वडा कमिटीमा सम्मेलन मार्फत नयाँ नेतृत्व चयन गर्न केन्द्रीय कमिटी तथा प्रदेश कमिटीले सर्कुलर जारी गरेको थियो । सोही सर्कुलर अनुसार पुस मसान्तसम्ममा जिल्ला भित्र पालिका कमिटी र वडा कमिटीमा सम्मेलन मार्फत नयाँ नेतृत्व चयन हुँदै गरेको नेकपा माओवादी केन्द्र दोलखाका प्रवक्ता पुस्कर अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाको मेलुङ गाउँपालिका, गौरीशंकर गाउँपालिका र विगु गाउँपालिकामा पालिका कमिटीको पुस १३ गते सम्मेलन हुँदै छ । सो दिन तीन पालिकामा सम्मेलन मार्फत नयाँ नेतृत्व चयन हुनेछ। त्यसैगरी ,बैतेश्वर गाउँपालिकामा पुस १५ गते, कालिञ्चोक गाउँपालिकामा पुस २० गते, शैलुङ गाउँपालिकामा पुस २७ गते पालिका कमिटीको सम्मेलन हुने नेकपा माओवादी केन्द्र दोलखाले जनाएको छ। पार्टीको स्थानीयतहहरूको सम्मेलन सम्बन्धमा पार्टीको विधान–२०८० मा भएको व्यवस्था अनुसार मातहतका समितिलाई परिपत्र पठाएको सम्मेलन गर्न तल्लो कमिटीलाई सो पाटीले निर्देशन दिएको थियो । स्थानीय तहमा नयाँ नेतृत्व चयन गर्नका लागि दोलखा जिल्लाबाट केन्द्रीय स्तरमा प्रतिनिधित्व गर्ने नेता, प्रदेश तथा जिल्ला स्तरका नेताहरुले कार्यविभाजन गर्दै सम्मेलनलाई सफल बनाउन लागि परेको सो पार्टीले जनाएको छ ।
Be the first to comment on "नेकपा माओवादी केन्द्र दोलखाले पालिका र वडामा सम्मेलन मार्फत नेतृत्व चयन गर्दै"