गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम

चरिकोट (दीस) ः मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा दोलखाको गौरीशंकर गाउँपालिकामा उपप्रमुखका लागि १६ जनाको उम्मेदवारी कायम भएको छ । बुधबार निर्वाचन कार्यालय दोलखाले १६ जनाको उम्मेद्वारी कायम भएको जनाएको छ । मंसिर २ गते उम्मेद्वार दर्ता गराएका उम्मेदवारहरूले बुधबारसम्म उम्मेदवारी फिर्ता गर्न पाउने समय अवधिसम्म कुनै पनि उम्मेदवारले उम्मेद्वारी फिर्ता नलिएपछि १६ जनाको उम्मेदवारी कायम भएको हो । निर्वाचन कार्यालयले बुधबार १६ जनालाई मतदान चिन्हसमेत प्रदान गरेको छ। गौरीशंकर गाउँपालिकामा १६ जनामध्ये ७ जना दलका र ९ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । दलका तर्फबाट उम्मेदवारी दिनेहरूमा नेपाली कांग्रेसबाट पासदिकी तामाङ (शेर्पा) लाई रुख, नेकपा एमालेबाट उमा लुङ्गेली मगर (शेर्पा) लाई सूर्य, र नेकपा माओवादी केन्द्रबाट निमलेकी शेर्पा लाई हसिया हथौडा चिन्ह प्रदान गरिएको छ । यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोमा श्रेष्ठलाई घण्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मनकुमारी श्रेष्ठलाई हलो, नेकपा एकीकृत समाजवादी पार्टीबाट रविना खड्कालाई कलम, र जनता समाजवादी पार्टीबाट सपना कार्की खड्कालाई गोलाकारभित्रको मुठी चिन्ह प्रदान गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । स्वतन्त्र उम्मेदवारहरूमा अप्सरा विश्वकर्मालाई सेलरोटीको चाङ, अम्बिका श्रेष्ठलाई आँखीभ्याल, दीपक तामाङलाई हजारी, दिलबहादुर बस्नेतलाई कागजको फिरफिरे, द्वारिका बुढाथोकीलाई चिम्टा, पुष्प कार्कीलाई क्याप, मधुरा कार्कीलाई डाडुपन्यू, शिवशम्भु तामाङलाई बिजुलीको खम्बा, र सर्किमा शेर्पालाई कप प्लेट चिन्ह प्रदान गरिएको छ । मंसिर १६ गते हुने उपनिर्वाचनका लागि २५ वटा राजनीतिक दलले दल दर्ता गराएका छन् । निर्वाचन कार्यक्रमअनुसार गौरीशंकर गाउँपालिका सहित उपनिर्वाचन हुने स्थानहरूमा मंसिर ६ देखि १३ गते राति १२ बजेसम्म उम्मेदवारहरूले प्रचारप्रसार गर्न पाउने छन् । त्यसपछि मंसिर १३ गते राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्मका लागि निर्वाचन प्रचारप्रसार निषेध गरिएको निर्वाचन आयोगले जनाएको छ । मतदान मंसिर १६ गते आइतबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म हुनेछ ।

Shares

Be the first to comment on "गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम"

Leave a comment

Your email address will not be published.


*