चरिकोट (दीस)ः दोलखाको गौरीशंकर गाउँपालिकामा मंसिर १६ गते हुने उपनिर्वाचनका लागि जिल्ला प्रशासन कार्यालय दोलखाले आचारसंहिता पालना गर्न निर्देशन दिएको छ । आइतबार जारी गरिएको सूचनामा प्रशासन कार्यालयले सो निर्देशन दिएको हो । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालद्वारा हस्ताक्षरित विज्ञप्तिमा आचारसंहिता लागू भएसँगै हातहतियार बोकेर हिँड्न र निर्वाचन विरोधी सन्देश प्रवाह गर्न पूर्ण रूपमा रोक लगाइएको उल्लेख छ। “निर्वाचनलाई स्वच्छ, निस्पक्ष, पारदर्शी र भयमुक्त वातावरणमा सम्पन्न गर्न र आचारसंहिता पालना गर्न सबै पक्षको महत्वपूर्ण भूमिका रहेको छ,” विज्ञप्तिमा भनिएको छ। सामाजिक मर्यादा तथा आचारसंहिता विपरीत टेलिभिजन, एफएम रेडियो, छापा पत्रिका, अनलाइन मिडिया र सामाजिक सञ्जालमार्फत राजनैतिक दल, उम्मेदवार, मतदाता, कर्मचारी, सुरक्षा कर्मी वा अरू कसैलाई लक्षित गरी गालीगलौज, भ्रामक सूचना वा निर्वाचन विरोधी सन्देश प्रवाह नगर्न÷नगराउन प्रशासनले स्रचना मार्फत अनुरोध गरेको छ । मंसिर १४ गते बिहान ६ बजेदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि गौरीशंकर गाउँपालिकाभित्र मादक पदार्थ उत्पादन, भण्डारण तथा विक्री(वितरण गर्न प्रतिबन्ध लगाउनुको साथै मंसिर १५ गते राति १२ बजेदेखि निर्वाचन सम्पन्न नभएसम्म पासविनाका सवारी साधन आवतजावत गर्न रोक लगाईएको सूचनामा उल्लेख गरिएको छ । उप निर्वाचनको दिन गौरीशंकर गाउँपालिका बाहेक अन्य पालिकाका मानिसहरूको आवतजावतमा समेत प्रशासनले रोक लगाएको छ ।
Be the first to comment on "आचारसंहिता पालना गर्न निर्देशन"