दोलखामा यात्रुको सहजताका लागि ‘टाइम कार्ड’ लागू

चरिकोट (दीस) ः जिल्ला प्रहरी कार्यालय दोलखाले यात्रु सहायता कक्ष स्थापनासहित टाइम कार्ड प्रणाली लागू गरेको छ। सोमबारबाट सुरु गरिएको यो व्यवस्था यात्रुहरूको सहजता र सुरक्षालाई ध्यानमा राखेर गरिएको हो । खरिढुङ्गामा स्थापना गरिएको सहायता कक्षको उद्घाटन दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले एक समारोहकाबीच गर्नु भएको थियो । उद्घाटन कार्यक्रममा पोखरेलले मन्तब्य ब्यक्त गर्नु हुँदै चालकहरूले सडकमा अनुशासन पालना गर्ने र टाइम कार्ड लागू भएपछि ट्राफिक नियम पालनामा चालकहरू बढी जिम्मेवार हुने विश्वास व्यक्त गर्नु भयो। दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक युवराज खड्काले पनि टाइम कार्ड लागू गरेर यात्रुहरूको सहज र सुरक्षित यात्रा सुनिश्चित गर्न पहल गरिएको बताउनु भयो ।
दोलखा प्रहरीले चाडपर्वमा हुने भीडभाडमा यात्रुको सहजताका लागि खरिढुङ्गा, सातदोबाटो चरिकोट, सिङ्गटी, जिरीमा यात्रु सहायता कक्ष स्थापना गरी टाइम कार्ड लागू गरेको हो । सोमबारबाट दोलखाको खरीढुंगाबाट चरिकोटसम्म १ घण्टा र चरिकोटबाट रामेछाप सीमाना किर्नेटारसम्म १ घण्टा ३५ मिनेटको यात्रा समय तोकिएको छ । यस्तै चरिकोटबाट जिरीहुँदै सोलुखुम्बु जाने सवारी साधनलाई जिरीसम्म २ घण्टा १५ मिनेट समय निर्धारण गरिएको छ । यात्राका क्रममा असहजता महसुस भए सहायता कक्षामा उजुरी वा गुनासो गर्न ट्राफिक सहायता कक्ष स्थापना गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख ठाकुर भट्टराईले बताउनु भयो । यात्रु सहायता कक्षमार्फत ट्राफिक नियमबारे सचेत गराउने, क्षमताभन्दा बढी यात्रु बोकेमा, तोकिएभन्दा बढी भाडा लिएमा जाँच गर्ने उहाँको भनाई रहेको छ । गत असोज ११ र १२ गतेको बाढीपहिरोले सुनकोसीमा रहेको खुर्कोटको पुल र वीपी राजर्मागमा सडक भत्काएपछि अहिले यो राजमार्गमा यातायातको चाप बढेको छ । अहिले राजधानी काठमाडांैबाट चरिकोट हुँदै रामेछाप, ओखलढुङ्गा ,मन्थली, सोलुखुम्बू जिल्लामा जाने यातायातहरु चल्ने गरेका छन्  ।

Shares

Be the first to comment on "दोलखामा यात्रुको सहजताका लागि ‘टाइम कार्ड’ लागू"

Leave a comment

Your email address will not be published.


*