चरिकोट (दीस)– नेपाली कांग्रेस दोलखाले असोज १ गतेदेखि पुस १० गतेसम्म सय दिने अभियान सञ्चालन गर्ने भएको छ। कांग्रेस केन्द्रीय समितिको देशव्यापी कार्यक्रमअनुसार दोलखा कांग्रेसले संगठन मजबुत बनाउन, क्रियाशील सदस्यता वितरण, र अन्य सांगठनिक गतिविधि सम्पन्न गर्न यो अभियान सञ्चालन गर्ने योजना बनाएको हो।
शुक्रबार चरिकोटस्थित सिमपानी हलमा पार्टी सभापति बर्मा लामाको अध्यक्षतामा बसेको संयुक्त बैठकले अभियानका लागि विभिन्न निर्णयहरू गरेको छ। सभापति लामाका अनुसार, १०० दिने अभियानको उद्देश्य सांगठनिक गतिविधिहरूलाई प्रभावकारी बनाउनु, सदस्यता वितरण र नवीकरण कार्यलाई तीव्रता दिनु, र विधानअनुसार मातहतका कार्यसमितिहरूमा बैठक, सम्मेलन, र अभिमुखीकरण सञ्चालन गर्नु हो।
सभापति लामाले यस अभियानले पार्टीका उम्मेदवार भई निर्वाचित जनप्रतिनिधिहरूसँग समन्वय र सहजीकरणलाई नियमित तथा व्यवस्थित गर्ने काममा पनि मद्दत पुर्याउने जानकारी दिए। बैठकले क्रियाशील सदस्यता नवीकरण र वितरण गर्ने, पार्टीका विभिन्न संयन्त्रहरूमा रिक्त पदहरू पूर्ति गर्दै जिम्मेवारी दिने, र भवन निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गरी स्रोत संकलन अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।
दोलखा कांग्रेसका प्रवक्ता राकेश श्रेष्ठद्वारा जारी गरिएको विज्ञप्तिमा लेखिएको छ कि १०० दिने अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न, पार्टीको लेखापरीक्षण गराउने लगायतका निर्णयहरू पनि बैठकमा गरिएका छन्।
Be the first to comment on "कांग्रेस दोलखाले सय दिने अभियान सञ्चालन गर्ने"