‘आहा ! जिरी मनमोहक रहेछ’

काठमाडौँ,  : क्यानभासमा कैद भएका पर्यटकीयस्थल जिरीका तस्वीर हेरेर नलोभिने कमै होलान् । चित्र नियालेपछि पाका कलाकार रमेश खनालले प्रतिक्रिया दिनुभयो,“ आहा ! जिरी साँच्चिकै मनमोहक रहेछ ।” बानेश्वरस्थित उमोजा क्याफेमा पर्यटकीय नगर जिरीको सौन्दर्य प्रचार गर्ने उद्देश्यले आजदेखि सुरु भएको ‘क्यानभासमा जिरी’ चित्रकला प्रदर्शनीमा भेटिएका उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो । टुरिजम प्रमोशन फोरम नेपालले आयोजना गरेको तीनदिने चित्रकला प्रदर्शनीको पहिलो दिन आज चित्रकला हेर्ने युवाहरूको पनि त्यत्तिकै घुइँचो थियो । प्रदर्शनीमा दोलखाको जिरीमा रहेका प्राकृतिक, सांस्कृतिक, धार्मीकलगायत स्थानीय जीवनशैलीका रोचक आकृति उतारिएका छन् । कलाकार केशवराज खनाल, किशोर रानाभाट, लीलाधर केसी, मोहन शिवाकोटी, प्रकाश मिजार र शिव सिर्पाली गरी छ कलाकारले बनाएका एक्रेलिक र जलरङ (वाटर कलर) को प्रयोग गरी चित्र सिर्जना गर्नुभएको छ । प्रदर्शनीका संयोजक लीलाराम खड्काले जिरीको सौन्र्दय प्रचार गर्न सकिए आन्तरिक र बाह्य पर्यटक भित्र्याउन सकिने बताउनुभयो । उहाँले कलाकारलाई तीन दिनसम्म जिरीमा राखेर प्रत्यक्ष दृश्यावलोकन गरी देखेका, भोगेका र महसुस गरेका आकृति क्यानभासमा उतार्न लगाएको जानकारी दिनुभयो । “पर्यटकमाझ नेपालको स्विटजरल्याण्ड भनेर चिनिएको जिरीको प्राकृतिक सौन्र्दय, जनजीवन, संस्कृति, वास्तुकला र सम्पदालाई कलाकारले क्यानभासमा उतार्नु भएको छ । यसमार्फत कला र जिरीको सौन्र्दय एकसाथ पस्किन खोजेका छौँ”, खड्काले भन्नुभयो । कुनै बेला सगरमाथाको प्रवेशद्वारका रुपमा परिचित जिरी यतिबेला पर्यटक कुरेर बसेको उहाँले सुनाउनुभयो । जिरीमा रहेका ताल तलैया, झरना, मठमन्दिर, गुम्बा, प्राकृतिक उद्यान, हिँउ, याक आदि प्राकृतिक दृश्य समेटिएका ३६ थान चित्र प्रदर्शनीमा राखिएका छन् ।  (रासस)

Shares

Be the first to comment on "‘आहा ! जिरी मनमोहक रहेछ’"

Leave a comment

Your email address will not be published.


*