ढोरपाटन (बागलुङ), १९ मङ्सिर : समयमै भुक्तानी नहुँदा बागलुङमा साना तथा ठूला दर्जनौँ आयोजना अलपत्र परेका छन् । कतिपय आयोजना निर्माण कम्पनीको लापरबाहीले त कतिपय बजेट अभावका कारण अलपत्र परेका हुन् । पछिल्लो समय धमाधम काम भइरहेका आयोजना पनि भुक्तानीका कारण रोकिएका छन् । विशेष गरी भुक्तानी नहुँदा दुई ठूला आयोजना ठप्प भएका छन् । बागलुङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ अन्तर्गतको बागलुङ बजार, सिगाना, बरेङ–गुल्मी शान्तिपुर सडक र निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गतको हरिचौर, मल्म–पाण्डपखानी रमुवा, रणसिंह, भिमगिठे हुँदैँ प्यूठान जोड्ने सडकको काम ठप्प भएका हुन् । सडक निर्माण ठप्प हुँदा स्थानीयवासीलाई सास्तीसँगै समयमै काम नहुँदा बनेका संरचना जीर्ण बन्ने थप लागत बढ्ने जोखिम बनेको छ । बजेट अभावमा दुई ठूला आयोजनासहित बागलुङ र पर्वत जोड्ने जैमिनीघाट मोटरेवल पुल, बडिगाड मोटरेवल पुलमा, बोङ्गादोभान पुललगायतका दर्जन बढी आयोजना अलपत्र पर्ने अवस्थामा पुगेका हुन् । बजेट अभावमा खास गरी बहुवर्षे आयोजनाका कामले गति लिन सकेको छैन । दुई वटा निर्वाचन क्षेत्र अन्तर्गतका सडकमा निर्माण कम्पनीले धमाधम काम गरेका थिए । गत आर्थिक वर्ष काम गरेको करोडौँ रकम पाउन नसकेपछि कामदार र मेसिन फिर्तासमेत लगेका छन् । समयमै भुक्तानी नहुँदा आफूहरुले ठूलो नोक्सान बेहोर्दै आएको निर्माण कम्पनी बताउँछन् । निर्वाचन क्षेत्र नं १ अन्तर्गतको बागलुङ बजार, सिगाना, बरेङ–गुल्मी शान्तिपुर सडकको जिम्मा पाएको निर्माण कम्पनी कर्ण विल्डर्सले जिल्लामै सबैभन्दा छिटो काम गरेर आयोजना समयमै सक्ने अवस्थामा पुगेको थियो । तर अहिले काम रोकिएपछि निर्माणाधीन सडकको अवस्था निकै जोखिमयुक्त बनेको छ । तीस महिनाको समय पाएको निर्माण कम्पनीले हालसम्म ४५ प्रतिशत बढी काम गरेको छ । भुक्तानी नपाएपछि करिब छ महिनादेखि काम रोकिएको छ । कर्ण विल्डर्सका प्रमुख नवीन गुरुङले गतवर्ष काम गरेको रु दुई करोड ५० लाख अहिलेसम्म पाउन नसक्दा काम रोक्न बाध्य भएको बताउनुभयो । निर्माणका लागि सडक डिभिजन कार्यालयसँग रु २९ करोडको सम्झौता गरेको काम सुरु गरेको भन्दै हालसम्म रु नौ करोड ५० लाखभन्दा बढीको काम गरेको उहाँले बताउनुभयो । “लामो समय भुक्तानी पाउन सकिएन, भुक्तानी नपाएपछि काम गर्न सक्ने अवस्था आएन, त्यसले गर्दा अहिले काम रोकिएको छ, कामदार र मेसिन पनि अन्तै पठायौँ, म्याद सकिनुभन्दा अगाडिनै काम सक्ने उद्देश्य थियो, काम रफ्तारमा भएको थियो तर भुक्तानी आएन”, गुरुङले भन्नुभयो, “अहिले व्यवहार मिलाउन साह्रै गाह्रो भएको छ, यस मितिमा भुक्तानी हुन्छ भन्दा वित्तिकै मैले तत्काल कामदार र मेसिन लगाएर काम थालिहाल्थे, तर भुक्तानी कहिले हुन्छ भन्ने थाहा छैन, समयमै काम नगर्दा हाम्रो पनि लागत बढ्ने, बनाएका ‘बेस’ बिग्रिने हुँदापछि थप समस्या हुन्छ ।” सडक डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी अमर अधिकारीले समयमै भुक्तानी दिन नसक्दा बागलुङमा साना ठूला गरी एकदर्जन बढी आयोजनाको काम रोकिएको बताउनुभयो । यसवर्ष पनि धेरै कम बजेट आउँदा काम गर्न समस्या हुने उहाँको भनाइ छ । अघिल्लो वर्ष काम गरेका विभिन्न निर्माण कम्पनीलाई रु सात करोड ४२ लाख बढी रुकम भुक्तानी गर्न बाँकी रहेको अधिकारीले बताउनुभयो । भुक्तानी गर्न नसक्दा निर्माण कम्पनीलाई काम गर्न लगाउन पनि गाह्रो भएको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “यस कार्यालयबाट सञ्चालन भएका धेरै आयोजना भुक्तानी नपाउँदा रोकिने अवस्थामा पुगेका छन्, अघिल्लो आर्थिक वर्षकै ठूलो रकम उहाँहरुलई भुक्तानी गर्न बाँकी छ, यसवर्ष पनि निकै न्यून बजेट आएको छ, निर्माण कम्पनीलाई काम लगाउनै गाह्रो भएको छ, तीन वटा ठूलो आयोजनाको अघिल्लो वर्षकै करोडौँ रकम हामीले भुक्तानी गर्नुपर्ने छ ।” स्थानीय नेत्रबहादुर केसीले निर्माण कम्पनीले काम नगर्दा स्तरोन्नति गर्नका लागि तयार भएका सडक बिग्रिएर अप्ठ्यारा बनेको बताउनुभयो । ठेकेदार कम्पनीले पैसा नपाएको भन्दै काम छोडेर गएपछि निर्माण सकिन लागेका आयोजाना फेरि पुरानै अवस्थामा पुग्ने स्थिति आएको उहाँको भनाइ छ । नाली निर्माण, चौडा गर्नेदेखि अन्य संरचना तयार गरेकोमा लामो समयदेखि काम नहुँदा ती सबै भत्किएर काम नलाग्ने भएको बताउनुभयो ।
भुक्तानी नहुँदा दर्जनभन्दा बढी आयोजना अलपत्र
Posted By: दीक्षण दैनिक १९ मंसिर २०८०, मंगलवार १४:३२
२७ पुष २०८१, शनिबार १९:४४
स्व. डिठ्ठा. जगन्नाथ उप्रेतीको पुख्र्यौली घर पुनर्निर्माण र सूर्यपाञ्चायन मन्दिरको शिलान्यास
२७ पुष २०८१, शनिबार १८:३७
वडाअध्यक्ष फुटबल कपका लागि ट्रफी र टाईसिट सार्वजनिक
२७ पुष २०८१, शनिबार १८:१२
प्रेस सेन्टर नेपाल दोलखामा बस्नेत पुनः अध्यक्षमा चयन
२७ पुष २०८१, शनिबार १८:४२
पृथ्वी जयन्तीको अवसरमा चियापान समारोह सम्पन्न
२७ पुष २०८१, शनिबार १९:२२
Be the first to comment on "भुक्तानी नहुँदा दर्जनभन्दा बढी आयोजना अलपत्र"