चरिकोट(दीस) ः दोलखा जिल्लामा माध्यमिक शिक्षा उत्तिर्ण परीक्षा एसइई परीक्षा संचालको सम्पूर्ण तयारी पूरा भएको छ । जिल्लामा चालु शैक्षिक सत्रको एसईई परीक्षा संचालनको लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको हो ।
एसईई परीक्षा संचालनको लागि आवश्यक केन्द्र तोक्ने, केन्द्राध्यक्षहरु तोक्ने लगायतका पूर्वतयारीका कामहरु सबै सम्पन्न भइसकेको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख शंकरबाबु श्रेष्ठले जानकारी दिनुभयो । आज केन्द्राध्यक्षहरुको अभिमुखीकरण कार्यक्रम संचालन हुने समन्वय ईकाई प्रमुख श्रेष्ठको भनाई रहेको छ ।
यस पटकको एसइई परीक्षामा दोलखाबाट सामूदायिक तथा संस्थागत विद्यालय, खुल्ला तथा प्राविधिक धारका समेत कुल ३ हजार ४० विद्यार्थी सम्मिलित हुँदै छन् । जसमा १ हजार ३९८ छात्र तथा १ हजार ६४२ छात्रा रहेका शिक्षा विकास तथा समन्वय इकाई दोलखाले बताएको छ । परीक्षामा संलग्न हुने कुल विद्यार्थी मध्ये सामुदायिक विद्यालयमा अध्ययनरत १ हजार २३१ छात्र तथा १ हजार ५२४ छात्रा गरी कुल २ हजार ७५५ रहेका छन् । यसैगरी संस्थागत विद्यालय तर्फ १४७ छात्र तथा १०८ छात्रा गरी कुल २५५ जना रहेका छन् । यस्तै खुल्लातर्फ २० छात्र तथा १० छात्रा गरी कुल ३० जना परीक्षार्थी रहेका छन् । यो वर्षको एसइई परीक्षामा दोलखाका ८७ सामूदायिक विद्यालय, ११ संस्थागत विद्यालय तथा एक खुल्ला विद्यालयका विद्यार्थीहरु सम्मिलित हुँदै छन् । परीक्षा संचालनका लागि १९ परीक्षा केन्द्र तोकिएको छ । यस पटकको एसइर्इ परीक्षामा दुई जना अपाङ्गता भएका परीक्षार्थीहरु भएको श्रेष्ठले बताउनु भयो । अपाङ्गता भएका परीक्षार्थीहरुलाई आधी घण्टा समय थप हुने उहाँको भनाई रहेको छ ।
परीक्षालाई मर्यादित बनाउन विद्यार्थी, शिक्षक, अभिभावक लगायत सरोकारवाला सबै पक्षलाई सहयोग गर्न समन्वय इकाई प्रमुख श्रेष्ठले आग्रह गर्नु भयो । एसइई परीक्षा चैत्र १७ गते देखि संचालन हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको परीक्षा चैत २९ गतेसम्म हुने तालिका सार्वजनिक गरिसकेको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ ।
Be the first to comment on "दोलखामा एसइई परीक्षा संचालनको तयारी पूरा"