भूकम्प पछि गाउँमा घर बढे मानिस घटे

चरिकोटः दोलखाका ग्रामिण भेगमा आम विनासकारी भूकम्प पछी घरहरुको संख्या निक्कै बढेको छ । गाउँमा घरहरु गुजुमुज्ज देखिन थालेका छन् । तर मानिसहरुको संख्या भने दिनदिनै घट्न लागेको छ ।
वर्षले ७० हाराहारी पुगेकी भीनपा एककी सीता थामीलाई गाउँमा युवाहरु घटेकोमा चिन्ता लागेको छ । “भुकम्प अघि बनेका माटाका घरहरु अहिले अर्धपक्की बनेका छन् । घरहरु पनि निक्कै थपिएकोमा गाउँभरी मानिस छन जस्तो लाग्छ तर के गर्नु रोजगारी छैन ।” उहाँले भन्नु भयो,“गाउँका युवा जती कोही विदेश कोही जागिर खोज्न सहरमा । गाउँमा त बुढाबुढी मात्रै छन् । ” भुकम्प पछि बनेका घरका भुईँहरु प्रायः ढलान गरिएकोले महिलाहरुको लिप्ने पोत्ने काम भने केही घटेको उहाँको अनुभव छ ।
आम विनाशकारी भुकम्प पछि एकतले घर मात्र बनाउने भनेर पनि घरको संख्या बढेको अर्का स्थानीय मान बहादुर थामीको भनाई रहेको छ । “ अग्ला घर बनाउँदा भूकम्पले भत्काउला भन्ने त्रास भयो । दुई कोठे घरले नपुग्ने अनि एक भन्दा बढी घर बनाउनु परिगो ।” मानबहादुरले भन्नु भयो,“ एकै परिवारले एक भन्दा बढी घर बनाउनु पर्दा पनि घर बढी देखिएका हुन् । तर के गर्नु मान्छे घटीरहेका छन् ।”
भीमेश्वर एकमा मात्र हैन दोलखाका प्रायः सबै गाउँको अवस्था उस्तै छ । विगू गाउपालिका खार्तालमा शेर्पाहरुका बाक्लै घरहरु छन् तर प्रायजसो घरहरुमा ताल्चा लागेको छ । कारण युवाहरु विदेश छन् । विदेश जानेका श्रीमतीहरु छोराछोरी पढाउन भन्दै सहर पसेका छन् । घर रुङ्न बुढा पाकामात्र गाउँमा बस्ने गरेको स्थानीय डोल्मा शेर्पाको भनाई छ ।
भुकम्प पछि तीनलाख राहतको आशमा आवश्यकता भन्दाबढी घर बनाउनाले पनि अहिले घरहरुको संख्या बढेको बैतेश्वर गाउँपालिका वडा नम्बर छ कि सिर्जना घिमेरेको भनाई छ । कतिपयले अन्यत्र घर हुँदा हुँदै पनि राहतको आशमा अनावश्यक घर बनाउँदा घरहरुको संख्या बढेको उहाँको अनुभव छ । “घर बने मानिस बसेनन् , रोजगारीको खोजमा युवा बाहिर जानुपर्ने बाध्यात्मक स्थीति आएपछि घर खाली त हुनेनै भए नि ।” उहाँले भन्नु भयो,“ कृषिमा रोजगारीको सिर्जना नगरे अब गाउँ खाली हुन्छ । गाउँ खाली हुनबाट जोगाउनेहो भने गाउँमैं रोजगारीको सिर्जना गर्ने । गाउँका उत्पादनलाई उचित मूल्यमा खरिद गर्ने ब्यवस्था मिलाउनुको विकल्प छैन । ” गाउँमानैं कृषि जन्य उत्पादन तर्फ युवाहरुलाई अग्रसर गराउनुपर्ने स्थानीयहरुको माग रहेको छ ।

Shares

Be the first to comment on "भूकम्प पछि गाउँमा घर बढे मानिस घटे"

Leave a comment

Your email address will not be published.


*