भीम पुस्तकालयको अस्तित्व संकटमा

फाइल फोटोः भीम पुस्तकालय, फोटो सभार ः बाँपीभm्याला अनलाइन

नवराज शिवाकोटी, चरिकोट ः दोलखा बजारमा अवस्थित भीम पुस्तकालय अस्तित्व संकटमा परेको छ । २०७२ सालको भुकम्पले पुस्तकालयको भवन भत्केपछि हालसम्म पनि पुनर्निर्माण गर्न सरोकारवालाले चासो नदिएसँगै पुस्तकालयको अस्तित्व संकटमा परेको हो ।
भीमपुस्तकालय स्थापना हुनुअघिनैं दोलखा बजारमा त्रिपुरा पुस्तकालय तथा भैरव पुस्तकालय अस्तित्वमा रहेकोमा ति पुस्तकालय का पुस्तकसहित सुरक्षित राख्ने तथा अध्ययनको थलो बनाउन तत्कालिन भीम पब्लिक स्कुलका प्रधानअध्यापक रामबहादुर श्रेष्ठ
(कविताराम श्रेष्ठ) ले २०२४ सालमा सार्वजनिक पुस्तकालयको रुपमा भीम पुस्तकालयको स्थापना गर्नु भएको दोलखाका जानकार एवं भीम पुस्तकालयका कार्यबाहक अध्यक्ष तिर्थनारायण जोशीले बताउनु भयो । भुकम्प पछि पुस्तकालयको भवन निर्माणकालागि दोलखाका समाजसेवी आत्मकृष्ण श्रेष्ठले निक्कै पहल गर्नु भएपनि पुस्तकालयको जग्गा ज्यादै सानो भएकोले पुस्तकालय भवन निर्माण गर्न दाताहरु समहमत नहुँदा पुस्तकालय भवन बन्न नसकेको जोशीको भनाई रहेकोछ ।
“पहिले सरकारी पाठ्यपुस्तक पाउन साह्रै मुस्किल हुन्थ्यो ।” जोशीले भन्नुभयो,” भीम माविमा पढ्ने विद्यार्थीहरुको अध्ययनलाई यही पुस्तकालयले ठूलो भरथेग गरेको थियो । ” भीम पुस्तकालय भन्दा पहिले नैं दोलखामा अस्तित्वमा रहेका त्रिपुरा पुस्तकालय तथा भैरव पुस्तकालय मध्ये त्रिपुरा पुस्तकालय लाई भारत सरकारले सहयोग गरेको थियो भने भैरव पुस्तकालय लाई ब्रिटिस सरकारले सहयोग गर्ने गरेको दोलखाका स्थानीयहरुको भनाई रहेको छ । २०२४ सालमा भीम पुस्तकालय स्थापना भएपछि भने दुवै पुस्तकालयका पुस्तकहरु भीमपुस्तकालयलाई हस्तान्तरण गरिएको कार्यबाहक अध्यक्ष जोशीले बताउनु भयो । भीमपुस्तकालयलाई जर्मन , भारत , चीन, उत्तरकोरिया लगायतका राजदुतावासबाट समसामयिक पुस्तकहरु उपलब्ध गराईने गरेको उहाँको भनाई छ ।
पुस्तकालयलाई स्थानीय ज्ञानकृष्ण श्रेष्ठले बुवा हस्तबहादुर श्रेष्ठको नाममा दोलखा बजारको मध्येभाग सिम्बुथानमा २०३० सालतिर जग्गा दान दिनु भएको जोशीले बताउनुभयो । सोही जग्गामा स्थानीयहरुले श्रमदानबाट भवन निर्माण गरेको तथा तत्कालिन प्रधानपञ्च भरत बहादुर श्रेष्ठको पहलमा तत्कालिन जिल्ला पञ्चायतबाट छाना लगाउन सहयोग प्राप्त भई पुस्तकालय भवन निर्माण भएको थियो । २०७२ सालसम्म पुस्तकालय संचालनमा रहेको कार्यबाहक अध्यक्ष जोशीको भनाई छ । भवन बनेपछि भीम पुस्तकालय आफ्नै भवनमा सरेको थियो ।
पुस्तकालय संचालनकोलागि माधवमणिराज भण्डारी, अमरकुमार श्रेष्ठ लगायत धेरैको महत्वपूर्ण सहयोग रहेको कार्यबाहक अध्यक्ष जोशीले बताउनु भयो । माधवमणि राजभण्डारीले विशेषगरी विद्यार्थीकालागि उपयोगीहुने थुपै्र पुस्तक पुस्तकालयलाई उपलब्ध गराउनु भएको जोशीको भनाई छ । २०७२ सालसम्म चलेको पुस्तकालयमा ऐतिहासिक, धार्मिक साहित्यिक तथा पुरातात्वीक महत्वका पुस्तकहरु सहित करिब आठहजार पुस्तक संग्रहित रहेका थिए । भुकम्पले पुस्तकालयको भवन जिर्ण भएपछि पुस्तकालयका पुस्तकहरु अहिले भीमेश्वर मन्दिर नजिक रहेको घरेलु उद्योगको भवनमा राखिएको दोलखाका स्थानीय भरत प्रधानले जानकारी दिनुभयो ।
भीम पुस्तकालयको अस्तित्व संकटमा पर्न नदिन जग्गा खरिद गरेर पुस्तकालय भवन निर्माण गर्न स्थानीय सरकार लागायतले चासो दिनु पर्ने कार्यबाहक अध्यक्ष जोशीको आग्रह रहेको छ ।
पुस्तकालयका बचेका पुस्तकको अवस्था हेरी पूनः पुस्तकालय संचालन गर्न आफूले पहल गरिरहेको भीमेश्वर नगरपालिका वडा नम्बर दुईका वडा अध्यक्ष स्टालिन श्रेष्ठले बताउनु भयो । पुस्तकालय भवन निर्माणकालागि सम्भाब्य जग्गाको पनि खोज भइरहेको उहाँको भनाई छ । पुस्तकालयको भवन निर्माण नभएसम्म भीम पुस्तकालय संचालनकोलागि आफूले सम्भाब्य ठाउँ हेरीरहेको र चाँडै निश्कर्षमा पुगी पुस्तकालयका पुनः संचालन गर्ने ब्यवस्था मिलाउन आफू लागिरहेको वडाध्यक्ष श्रेष्ठले बताउनु भयो ।

Shares

Be the first to comment on "भीम पुस्तकालयको अस्तित्व संकटमा"

Leave a comment

Your email address will not be published.


*