चरिकोट(दीस)ः दोलखा जिल्लामा रहेको तामाकोशी पाँच जलविद्युत आयोजना निर्माणका लागि सिभिल र हाइड्रो मेकानिलतर्फको ठेक्कामा दुई कम्पनी सर्टलिस्टमा परेका छन् । सर्टलिस्टमा परेका कम्पनीहरुमा सिनो हाइड्रो कर्पोरेसन लिमिटेड र चाइन गेजुवा ग्रुप कम्पनी लिमिटेड रहेका छन् । तामाकोशी जलविद्युत कम्पनीले साउन ९ गते आयोजनाको सिभिल तथा हाइड्रो मेकानिलतर्फको ठेक्का निकालेको थियो । ठेक्कामा प्रतिश्पर्धा गर्ने विभिन्न कम्पनीहरुमध्ये उक्त दुई कम्पनीको प्राविधिक प्रस्ताव स्वीकृत भएको तामाकोशी जलविद्युत कम्पनीले बताएको छ । अब दुई कम्पनीले पेश गरेको आर्थिक प्रस्ताव मूल्याङ्कन गरी ठेकेदारको अन्तिम छनोट गरिने कम्पनीका कार्यकारी अधिकृत विनोद भण्डारीले जानकारी दिनु भयो ।
सर्टलिस्टमा परेको सिनो हाइड्रो ले माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सिभिल संरचनाको निर्माण सफलतापूर्वक सम्पन्न गरिसकेको छ भने मेलम्ची खानेपानी आयोजना तथा तथा तनहु जलविद्युत आयोजनाको विद्युतगृह निर्माणको काम गरिरहेको छ । यस्तै गेजुवाले त्रिशुली थ्री ए जलविद्युत आयोजनाको सिभिल संरचना निर्माणको काम गरेको थियो ।
करिब १०० मेगावाटको तामाकोशी ५ माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको क्यासकेड आयोजना हो । माथिल्लो तामाकोसीको टेलरेस बाट निस्किएको पानी प्रयोग गर्ने हुदा यो आयोजनाको हेडवर्क्स निर्माण गर्नुपर्दैन । डिसेन्डर पनि बनाउनु पर्दैन । सिधैं डाइभर्सन बनाएर टेलरेसबाट तामाकोसी ५ को सुरुङमार्गमा पानी जोडिने छ ।
आयोजनाको विद्युत गृह भूमिगत हुनेछ । माथिल्लो तामाकोसी जलविद्यु आयोजनाकै संरचना प्रयोग गरिनाले लागत कम पर्ने हुँदा यो आकर्षक आयोजना मानिएको छ । आयोजना निर्माणका लागि करिब २० अर्ब रुपैयाँ (ब्याजसहित) लाग्ने अनुमान छ ।
Be the first to comment on "तामाकोसी ५ को निर्माणका लागि दुई चिनियाँ कम्पनी सर्ट लिस्टमा"