नवराज, चरिकोटः दोलखाको उत्तरी क्षेत्रको लामावगरमा निर्माण भइरहेको ११ सय मिटर लामो सुरुङ मार्गको निर्माण सम्पन्न भएको छ । लम्ची खोलामा १६० मेगावाटको जलविद्युत् आयोजना निर्माणको जिम्मा लिएको एमभी दुगड समूहले पहुँचमार्गकालागि निर्माण गरिरहेको सो सुरुङको निर्माण सम्पन्न भएको हो ।
पहुँच मार्ग निर्माणकालागि ११ सय मिटर लामो सुरुङ मार्गको निर्माण हालै सम्पन्न भएको दुगड समूहकै सुमो कन्सट्रक्सन का अधिकृत हेमराज तामाङले बताउनु भयो । शनिवार सुरुङ मार्गको ब्रेक थ्रु सम्पन्न भएको उहाँको भनाई रहेको छ ।
लामाबगरबाट १० किलोमिटर उत्तरमा निर्माणाधिन जलविद्युत आयोजना निर्माणका लागि पहुँचमार्गको रूपमा यही सुरुङमार्ग प्रयोगमा ल्याइने छ । । अब सुरुङभित्रको सफाइ र कठिन भीरमा पहुँचमार्गसम्मको ६० मिटरको ट्र्याक निकालेपछि माथिल्लो तामाकोसीको जलाशयको अन्तिम विन्दुसम्म गाडी पुग्न सक्ने उहाँले बताउनुभयो ।
लामाबगरमा रहेको माथिल्लो तामाकोसीको बाँध क्षेत्रको दायाँतर्फको कठिन भीरमा बाहिरी सतहबाट सडक निकाल्न सम्भव नभएपछि सुरुङमार्ग निर्माण सुरु गरिएको थियो । जुन, नेपालमा हालसम्म निर्मित सुरुङमार्ग मध्ये सबैभन्दा लामो पनि भनिएको छ । यसअघि, बाहिरी सडक भूकम्पका कारण भत्किएपछि माथिल्लो तामाकोसीले लामाबगर जाने काभ्रे भीरमा ३३७ मिटरको सुरुङमार्ग निर्माण गरेको थियो । एमभी दुगड समूहले सुरुङमार्गसँगै सडक पनि निर्माण गरिरहेको छ, सडक निर्माणका लागि जहाजमार्फत लुम्नाङ र थाम्चेम्बुसम्म स्काभेटर पुर्याइएको थियो । बाँधस्थलदेखि तल निर्माण गर्नुपर्ने २० किलोमिटर प्रवेशमार्गमध्ये अहिलेसम्म ९ किलोमिटरको ट्रयाक खुलिसकेको बताइएको छ । सुरुङमार्ग तयार भएपछि अन्य जलविद्युत आयोजनाको काम अघि बढाउन र लप्चीमा बसोबार गर्ने स्थानीयलाई समेत निकै सहज हुने दोलखाको दुर्गम गाउँ लप्ची र लुम्नाङमा ३० परिवारका करिब २०० जनाको बसोबास रहेको अनुमान छ । लामाबगरदेखि सडक खुले स्थानीयलाई जीवन यापनकालागि सजिलो हुने लप्चीका स्थानीयहरुको आशा छ ।
Be the first to comment on "दोलखामा अर्को सुरुङ मार्ग निर्माण पूरा"