चरिकोट(दीस) ः चरिकोट खानेपानी तथा सरसफाई उपभोक्ता समितिले आफ्नो ट्याङ्कीमा थप संरचना निर्माण गर्ने कार्य बन्द गर्न चेतावनी दिएको छ । समितिको ट्याङ्कीमा सहरी खानेपानी तथा सरसफाई (क्षेत्रगत) आयोजनाले थप संरचनाहरु निर्माण गरेको पाइएकाले सो कार्य नगर्न समितिले चेतावनी दिएको हो ।
समतिले बिहीबार एक प्रेस विज्ञप्ती मार्फत समिति स्वतन्त्र भएको र सहरी खानेपानी तथा सरसफाई (क्षेत्रगत) आयोजनामा एकीकरण नभएकोले समितिको ट्याँकीमा संरचना निर्माण बन्द गर्न भनिएको छ । आयोजनाले समितिलाई आफ्नो आयोजनामा एकिकरण भएको भन्दै समितिको ट्याङ्कीमा अनधिकृत ढङ्गले प्रवेश गरी थप संरचनाहरु निर्माण गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । थप संरचना निर्माण गर्दा २५ सय भन्दा बढी उपभोक्तालाई नियमित पानी आपुर्ती समस्या भएको र उक्त कार्य बन्द गर्न अनुरोध गरिएको छ । अनुरोधलाई स्वीकार नगरेमा आम उपभोक्ताहरुले त्यसरी अवैधानिक ढङ्गले बनाएको संरचना भत्काउन बाध्य हुने चेतावनी समेत विज्ञप्तीमा दिइएको छ । समितिले २०३८ देखि भीमेश्वर नगरपालिका वडा नम्बर १, ३, ४, ५, ६ र ७ का झण्डै २५ सय उपभोक्तालाई पिउने पानी उपलब्ध गराउदै आएको छ । समितिको विशेष साधारण सभाले समितिका संरचना हस्तान्तरण गर्ने निर्णय पनि खारेज गरिसकेको चरिकोट खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष बद्रिकुमार श्रेष्ठले जानकारी दिनु भयो ।
Be the first to comment on "चरिकोट खानेपानीले दियो शहरी खानेपानीलाई यस्तो कडा चेतावनी"