भीमेश्वर नगरले लागत साझेदारीमा गाई वितरण गर्ने

चरिकोट(दीस) ः दोलखाको भीमेश्वर नगरपालिकाले लागत साझेदारीमा गाई वितरण अनुदान कार्यक्रम सञ्चालन गर्ने भएको छ । एकल तथा विपन्न महिलाको आर्थिक शशक्तिकरण र जीविकोपार्जनमा सहयोग गर्ने उद्देश्यले ५० प्रतिशत साझेदारीमा नगरले गाई वितरण अनुदान कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
नगरका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार एकल तथा विपन्न महिलालाई आर्थिक तथा सामाजिक रुपमा सबल बनाउन कार्यक्रम सञ्चालन हुने बताउनुभयो । श्रीमानको निधनपछि साथ खोजिरहेका एकल र विपन्न महिलालाई कार्यक्रमबाट लाभान्वित हुँदा स्थानीय सरकारको सहयोग र साथ रहेको प्रत्याभूति मिल्ने उहाँले विश्वास गर्नु भयो । कार्यक्रमको लागि नगरपालिकाले ४८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । कार्यक्रममा सहभागी हुन चाहने व्यक्तिले ५० प्रतिशत लागत व्यहोर्नु पर्ने प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो । कार्यक्रममा सहभागी हुन ईच्छुकले माघ १८ गतेभित्र आवेदन भर्न उहाँले अनुरोध गर्नु भयो ।

Shares

Be the first to comment on "भीमेश्वर नगरले लागत साझेदारीमा गाई वितरण गर्ने"

Leave a comment

Your email address will not be published.


*