दीक्षण समाचार
चरिकोट, पुस २४
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनले लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउन सहयोग पुगेको बताउनु भएको छ ।
आइतबार चरिकोटमा आयोजित प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रमको उद्घाटन गर्दै निर्वाचन आयुक्त थपलियाले राजनीतिक दल, कर्मचारी र सुरक्षाकर्मीको सक्रियता र सहयोगबाट सम्पन्न भएको निर्वाचनले लोकतन्त्रलाई मजबुत बनाउन मद्धत पुगेको बताउनु भएको हो ।
समग्रमा स्वतन्त्र, निष्पक्ष, पारदर्शी र मितव्ययी ढंगले निर्वाचन सम्पन्न भएको बताउँदै उहाँले भविष्यमा हुने निर्वाचनलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन निर्वाचनको समीक्षा गर्नु आवश्यक रहेको बताउनु भयो । उहाँले विगतमा भएको निर्वाचनको समीक्षाबाट भविष्यमा हुने निर्वाचनलाई त्रुटिरहीत बनाउन सकिने उल्लेख गर्नु भयो ।
उहाँले दोलखामा पुनःनिर्वाचन गर्नुपर्ने अवस्था आउनु दुखद रहेको बताउँदै भविष्यमा यस्तो अवस्था आउन नदिन सबै सचेत हुन आवश्यक रहेको बताउनु भयो । निर्वाचन निष्ठा, विचार र सिद्धान्तबाट निर्देशित हुनुपर्ने उल्लेख गर्दै प्रमुख आयुक्त थपलियाले लोभलालच र प्रभावमा पारेर निर्वाचन जित्न नसकिने बताउनु भयो । उहाँले राजनीतिक दलको सहयोग बिना निर्वाचन उद्धेश्य अनुरुप नहुने बताउँदै राजनीतिक दल सुध्रिएपछि निर्वाचन प्रणाली पनि सुधारिने बताउनु भयो ।
कार्यक्रममा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको विविध पक्षहरु समेटिएको कार्यपत्र प्रस्तुत गर्दै आयोगका उपसिचव कमल ज्ञवालीले आगामी निर्वाचन उदाहरणीय बनाउन अहिलेदेखि नै सबैका ध्यान आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा नामावली, मतदान प्रक्रिया, मतदाता शिक्षा, पर्यवेक्षण, जनशक्ति, सामग्री व्यवस्थापन लगायतको विषयमा छलफल भएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा, प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठ, जिल्ला निर्वाचन कार्यालय दोलखाका प्रमुख, जिल्ला निर्वाचन अधिकारी शकुन्तला राई लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
Be the first to comment on "लोकतान्त्रिक प्रणाली बलियो बनाउन निर्वाचनले सहयोग पुग्यो ः प्रमुख निर्वाचन आयुक्त थपलिया"