दोलखाको भीमेश्वर नगरपालिका वडा नं. ५ का जेष्ठ नागरिकहरुले काठमाडौँका धार्मिक तथा पर्यटकीय स्थलहरुको अवलोकन भ्रमण गरिरहेका छन् । वडाध्यक्ष बासु श्रेष्ठले आफ्नो पारिश्रमिक र भत्ताबाट वडाका ८० वर्षदेखि ८९ वर्ष सम्मका ३८ जना जेष्ठ नागरिकलाईे भ्रमण गराउनु भएको हो । चिन्ता र तनावमा पिल्सिएर घरमै बसिरहका जेष्ठ नागरिकहरुलाई खुशी पार्ने उद्धेश्यले आइतबारदेखि मंलबारसम्मको लागि भ्रमणमा लगिएको वडाध्यक्ष श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार जेष्ठ नागरिकहरु भ्रमण गर्न पाउँदा निकै खुशी देखिएका छन् । जेष्ठ नागरिकहरुले धार्मिक तथा पर्यटकीय स्थलको अवलोकन गर्नुका साथै विभिन्न मनोरञ्जनात्मक गतिविधिमा सहभागी भईरहेका छन् । वडाध्यक्ष श्रेष्ठले जेष्ठ नागरिकहरुलाई देशका विभिन्न प्रतिष्ठित व्यक्तित्वसँग पनि भेटघाट गराउने कार्य भइरहेको बताउनु भयो । उहाँका अनुसार नेता, कलाकार तथा विभिन्न व्यक्तिहरुसँग जेष्ठ नागरिकहरुले भेटघाट गरिरहेका छन् । धार्मिक गतिविधिमा रमाउने जेष्ठ नागरिकलाई धार्मिक भ्रमणमा लैजाने पराम्परा रहेपनि आफूले भने देशका विभिन्न व्यक्तित्वसँग पनि भेटघाट गराएको वडाध्यक्ष श्रेष्ठको भनाई छ । भ्रमणबाट जेष्ठ नागरिकहरुले उर्जा र ज्ञान प्राप्त गरिरहेको उहाँले बताउनु भयो । अनुभवका खानी जेष्ठ नागरिकहरुको सम्मान गर्दै उनीहरुको योजना अनुसार भ्रमण गराउन पाउँदा गौरव महसुस भएको वडाध्यक्ष श्रेष्ठको भनाई छ । श्रेष्ठले वडाध्यक्षमा निर्वाचित भएर पदभार ग्रहण गर्दै आफुले पाउने सेवा सुविधा र मासिक पारिश्रमिकबाट सामाजिक कार्य गर्ने घोषणा गर्नु भएको थियो । वडा कार्यालयले जेष्ठ नागरिकहरुको सुविधाको लागि नगरपालिकाको आर्थिक सहयोगमा पीपलबोटमा जेष्ठ नागरिक भवन समेत निर्माण गरिदिएको छ ।
Be the first to comment on "भ्रमणमा रमाउँदै भीनपा ५ का जेष्ठ नागरिकहरु"