दीक्षण समाचार
चरिकोट, पुस १९
दोलखाको मेलुङ गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गर्ने भएको छ । अपाङ्गता भएका व्यक्तिहरूको हकहित र अधिकारको संरक्षण र संवर्द्धन गर्न र सेवा, सुविधा र अवसरको उचित व्यवस्थापन गराउन उनीहरुलाई पालिकाले परिचयपत्र वितरण गर्ने भएको हो ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जय शिवाकोटीले हालसम्म परिचयपत्र प्राप्त नगरेका अपाङ्गता भएका व्यक्तिहरुलाई पायक पर्ने स्थानमा कार्यक्रम आयोजना गरी परिचयपत्र वितरण गर्न लागिएको बताउनु भयो । उहाँका अनुसार पुस २८ देखि ३० गतेसम्म वडाका विभिन्न स्थानमा परिचयपत्र वितरणका लागि कार्यक्रम सञ्चालन हुने छ ।
“अपांगता भएका व्यक्तिहरुले हकअधिकार, सेवासुविधा र अवसरहरु पाउने आधार परिचयपत्र हो । तर कतिपयले परिचयपत्र अभावमा ती सबै सेवासुविधाबाट वञ्चित हुन सक्छन् ।” प्रमुख प्रशासकीय अधिकृत शिवाकोटीले भन्नुभयो “उनीहरुको हकअधिकारको सुनिश्चितताका लागि घुम्ति सेवा मार्फत परिचयपत्र वितरण गरिने छ ।”
अपाङ्गता भएका व्यक्ति÷ संरक्षकहरु आवश्यक कागजातसहित आफ्नो वडाको पालो परेको दिन तोकिएको स्थानमा उपस्थित भई परिचपत्र लिने व्यवस्था मिलाइएको छ । प्रमुख प्रशासकीय अधिकृत शिवाकोटीका अनुसार वडा नं. ५, ६ र ७ को लागि पुस २८ गते मेलुङ स्वास्थ्य चौकी, वडा नं. ७ थालीडाँडामा, वडा नं. २, ३ र ४ का लागि पुस २९ गते भेड्पु स्वास्थ्य चौकी वडा नंं ४ बुद्धचोकमा कार्यक्रम हुने छ । यस्तै वडा नंं १ का लागि पुस ३० गते पवटी स्वास्थ्य चौकी वडा नं. १ रमाइलोचोकमा कार्यक्रम आयोजना हुने उहाँले बताउनु भयो ।
सरकारले अपाङ्गता भएका व्यक्तिहरुलाई चार समूहमा विभाजन गरेको छ। पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिले रातो, अति अशक्त अपाङ्गता भएका व्यक्तिले निलो, मध्यम अपाङ्गता भएका व्यक्तिले पहेँलो र सामान्य अपाङ्गता भएका व्यक्तिले सेतो रंगको परिचयपत्र प्राप्त गर्ने छन्। अपाङ्गता भएका व्यक्तिले परिचयपत्रका आधारमा सामाजिक सुरक्षा भत्ताका साथै विभिन्न सेवा सुविधा र आरक्षण पाउने गरेका छन् ।
Be the first to comment on "मेलुङ गाउँपालिकाले तीन दिन अपाङ्गता परिचयपत्र वितरण गर्ने"