दीक्षण समाचार
चरिकोट, पुस १४
दोलखाको सदरमुकाम चरिकोटमा पोल्ट्री कृषकहरुको लागि सचेतना कार्यक्रम सम्पन्न भएको छ । दशौँ राष्ट्रिय पोल्ट्री दिवसको अवसरमा भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले सचेतना कार्यक्रम आयोजना गरेको हो ।
सचेतना कार्यक्रममा कुखुरामा लाग्ने रोग र रोगबाट जोगाउने उपायका विषयमा केन्द्रका पशु विकास अधिकृत डाक्टर धुव्र डिसीले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । किसानहरुले फार्ममा रोग र संक्रमणको प्रवेश रोक्ने, जैविक सुरक्षाका उपायहरु कडाइका साथ अपाउने गरेमा कुखुराको मृत्युदर र क्षति घटाउन सकिने बताउनु भयो । “कुखुरा पालन व्यवसायमा ठूलो प्रतिफल प्राप्त गर्न कुखुराको स्वास्थ्य र सुरक्षामा विषेश ध्यान दिनुपर्छ ।” उहाँले भन्नुभयो “ ध्यान दिँदादिँदै पनि समस्या आइहालेमा समयमै क्षति कम गराउने उपाय अवलम्बन गर्नुपर्छ ।”
उहाँले कुखुरा पालन व्यवसायबाट उत्पादन र उत्पादकत्व वृद्धिका लागि किसानले अहोरात्र मिहिनेत गर्नु पर्ने बताउनुभयो । उहाँले कुखुरा फार्मको सरसफाइमा ध्यान दिने, तालिका अनुसारको खोप नियमित लगाउने, मरेका पन्छीलाई संक्रमण नफैलिने गरी व्यवस्थापन गर्ने गरेमा फार्ममा रोगको जोखिम कम हुने बताउनु भयो । अबैद्यरुपमा पन्छी, पन्छीजन्य पदार्थ वा पन्छी उत्पादन सामग्रीको ओसारपसार बन्द गरेमा आफूले पालेका कुखुरा तथा पन्छीहरुलाई रोगबाट जोगाउन सकिने डाक्टर डिसिको सल्लाह छ ।
उहाँले जैविक सुरक्षाका साथै प्राविधिक ज्ञानको अभावमा क्षति भोग्नु पर्ने भएकोले कुखुरा पालन सम्बन्धि बेलाबेलामा आवश्यक परामर्श र सल्लाह सुझाव लिन किसानहरुलाई आग्रह गर्नु भयो । कार्यक्रममा ३० जना पोल्ट्री कृषकहरुको सहभागिता थियो । उनीहरुलाई सचेतनामूलक सामाग्री पनि वितरण गरिएको आयोजकले जनाएको छ ।
Be the first to comment on "दोलखाका पोल्ट्री कृषकहरुलाई सचेतना"