दोलखाको जिरी नगरपालिकाको न्यायिक समितिमा परे ९ उजुरी

चरिकोट(दीस) ः दोलखाको जिरी नगरपालिकाको न्यायिक समितिले सात वटा विवाद मिलाएको छ । चालु वर्षको हालसम्म लेनदेन, साँध सिमाना, झैझगडा, घरायसी विवादका नौ वटा उजुरी परेकामा समितिले सात वटा मिलापत्र गराएको हो । दुई वटा भने प्रक्रियामा रहेको नगर उपप्रमुख कृष्णमाया बुढाथोकीले बताउनु भयो । उहाँले विवाद भएपछि परेका उजुरी उपर पक्ष र विपक्षको आपसी छलफल र सहमतिपछि मिलापत्रमा टुँगो लगाइएको बताउनु भयो ।
वडातहमै विवादको निरुपण गराउने र त्यहाँ सम्भव नभएका विवादलाई न्यायिक समितिले हेर्ने गरेको छ । न्यायिक समितिले समेत विवावद मिलाउन नसकेको खण्डमा अदालत वा प्रहरीकोमा जान सुझाइने गरिएको उहाँले बताउनु भयो । “गाउँको विवाद गाउँमै समाधान, मेलमिलापको बाटो, समृद्धिको पाटो ” भन्ने सोच अनुसार न्यायिक समिति सक्रिय रहेको उपप्रमुख बुढाथोकीको भनाई छ । कसैको हार वा जित नहुने र बिग्रएका सम्बन्धलाई सुधारकालागि न्यायिक समितिको निष्पक्षता, प्रभावकारिता प्रभावकारी उपप्रमुख बढाथोकीले बताउनु भयो ।
स्थनीय तहको पहिलो कार्यकालमा जिरीमा एक सय ७५ वटा विवादको समाधानकालागि निवेदन परेको थियो । तीमध्ये एक सय ३४ वटाको मिलापत्र गरिएको, ६ वटा अदालत र ७ वटा प्रहरीमा गएका थिए । २४ जना निवेदक सम्पर्कमै आएका थिएनन् ।
न्यायिक समिति नहुँदा ससाना विवाद तथा झैझगडामा पनि स्थानीयहरु उजुरबाजुर गर्न प्रहरी र अदालतमा धाउँथे । तर अहिले त्यस्ता विवाद गाउँमै समाधान हुने भएपछि समय र पैसाको बचत भएको स्थानीय सरोकारवालाहरुको भनाई छ ।

Shares

Be the first to comment on "दोलखाको जिरी नगरपालिकाको न्यायिक समितिमा परे ९ उजुरी"

Leave a comment

Your email address will not be published.


*