सडकमा कोदो सुकाउने कार्य बन्द गर्न वडाको आग्रह


दीक्षण समाचार
चरिकोट, मंसिर २४
दोलखाको भीमेश्वर नगरपालिका वडा नं. ५ को कार्यालयले सडकमा कोदो सुकाउने कार्य बन्द गर्न किसानहरुलाई आग्रह गरेको छ ।
लामोसाँगु–जिरी सडक खण्ड अन्तर्गत अनाथालयदेखि तामाकाशी सडकमा किसानहरुले कोदो सुकाउने गरेकोले सो कार्य बन्द गर्न वडा कार्यालयले आग्रह गरेको हो । वडाध्यक्ष बासु श्रेष्ठले कोदो सडकमैँ फिँजाएर सुकाउँदा दुर्घटनाको जोखिम बढेकोले सो कार्य बन्द गर्न किसानहरुलाई सूचनामार्फत आग्रह गरिएको बताउनु भयो ।
सडक बिस्कुन सुकाउन नभई सवारी आवागमनको लागि भएको बताउँदै वडाध्यक्ष श्रेष्ठले सवारी सञ्चालनमा कठिनाई हुने र दुर्घटनाको जोखिम हुने कार्य तत्काल बन्द गरिनुपर्ने सुनाउनु भयो । सडकमा टायरको घर्षणले कोदो कुटिने हुँदा किसानहरुले सडकमा कोदो फिँजाउने गरेका छन् । त्यसले किसानलाई फाइदा भएपनि सवारी दुर्घटनाको जोखिम बढेको छ । यससम्बन्धी उजुरी समेत परेकोले सडकमा कोदो सुकाउने कार्य बन्द गराउन सूचना जारी गरिएको वडाध्यक्ष श्रेष्ठले बताउनु भयो ।
सुचनाको वेवास्ता गरी पुनः कोदो सुकाउने कार्य गरेको पाइएमा जुनसुकै बेला सडक सुरक्षामा खटिएका प्रहरीद्वारा बरामद गर्न लगाइने उहाँले बताउनु भयो । अनवरत रुपमा सहजै सवारी आवागमन र सडक सुरक्षाका लागि वडा कार्यालय सचेत रहेको उहाँले बताउनु भयो ।

Shares

Be the first to comment on "सडकमा कोदो सुकाउने कार्य बन्द गर्न वडाको आग्रह"

Leave a comment

Your email address will not be published.


*