ईश्वर बिश्वकर्मा ÷ चरिकोट ः मताधिकार संवैधानिक अधिकार हो । तर यसको उपयोग नगर्ने पनि थुप्रै छन् । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा दोलखाका ७४ हजार भन्दा बढी मतदातालेआफ्नो अधिकारको उपयोग नगरेको पाइएको छ ।
जिल्लामा यो पटकको निर्वाचनमा १ लाख ६१ हजार ४ सय ५० मतदातामध्ये मतदान प्रक्रियामा ८७ हजार १ सय ५५ जना मात्र सहभागी भए । प्रतिशतको आधारमा ५३ दशमलव ९८ प्रतिशत मत खस्यो । ७४ हजार २ सय ९५ जना मतदाता भने मतदानमा अनुपस्थित भएको निर्वाचन कार्यालयको प्रारम्भिक तथ्याङ्कमा उल्लेख छ ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख शकुन्तला राईले यो पटकको निर्वाचनमा मतदातामा उत्साह नदेखिएकोले अपेक्षा भन्दा कम मत खसेको बताउनु भयो ।
“यो पटकको निर्वाचनमा मतदातामा उत्साह देखिएन । उल्लेख्य मत खस्ने अपेक्षा गरिएको भएपनि सो हुन सकेन ।” उहाँले भन्नुभयो “यसले नागरिकहरु आाफ्नो मताधिकार प्रति सचेत छैनन् भन्ने पुष्टि गरेको छ ।” मतदाताले आफ्नो अधिकार सदपुयोग नगर्नुको पछाडी थुप्रै कारणमध्ये राजनीतिक दलप्रतिको वितृष्णा, उम्मेदवार अपेक्षा अनुसार नहुनु, विगतमा मतदान गरेपनि मतदाताको जीवनमा खासै परिवर्तन नआउनु, मतदानको दिन विदेश वा टाढा रहनु लगायतका कारण हुन सक्ने कार्यालय प्रमुख राईको अनुमान छ ।
“धेरैले मतदान र मताधिकारको महत्व बुझेर पनि मतदान प्रक्रियामा भाग लिएनन् । सहभागी भएकाले पनि मतदानलाई बाध्यताको रुपमा लिए ।” उहाँले भन्नुभयो, “उम्मेदवार छनोटका लागि एक मतको पनि धेरै महत्व हुने कुरा निर्वाचन पूर्व निर्वाचन शिक्षा कार्यक्रममा जानकारी दिइएको थियो । यसको प्रभावले मतदानमा मतदाताको उत्साहजनक सहभागिता हुने अपेक्षा गरिए पनि त्यसो भएन ।”
जिल्ला निर्वाचन कार्यालयका अनुसार स्थानीय तहको निर्वाचनमा १ लाख ६० हजार ९६ जना मतदातामध्ये १ लाख ५ हजार ७ सय ३२ मत अर्थात् ६६ दशमलब ०४ प्रतिशत खसेको थियो । ५४ हजार ३ सय ६४ मतदाता मतदानमा अनुपस्थित रहेका थिए ।
Be the first to comment on "दोलखाका ७४ हजार बढी मतदाताले गरेनन् मतदान"