दोलखामा सवारी साधन कारबाहीबाट १४ लाख बढी राजस्व सङ्कलन

ईश्वर बिश्वकर्मा
चरिकोट, मंसिर ६
जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले चालु वर्षको चार महिनामा सवारी साधन कारबाहीबाट १४ लाख भन्दा बढी राजश्व संकलन गरेको छ ।
साउनदेखि कार्तिकसम्म ट्राफिक नियम उल्लंघन गरेका एक हजार ८ सय ५० सवारी साधन कारबाहीबाट कार्यालयले १४ लाख ८७ हजार ४ सय रुपैयाँ राजस्व संकलन गरेको हो ।
कार्यालयको अनुसार ट्राफिक नियम उल्लंघन गरी सञ्चालन भएका ट्रक ३ सय ६५, बस ५ सय ८२, जिपकार भ्यान ४ सय ३४, मोटरसाइकल ४ सय ७२ वटा कारबाहीमा परेका थिए । जसमा ट्रक कारबाहीबाट दुई लाख ७९ हजार, बसबाट चार लाख ५ सय, जिपकार भ्यानबाट ३ लाख १७ हजार, मोटरसाइकल कारबाहीबाट ४ लाख ७४ हजार रुपैयाँ राजस्व असुल भएको कार्यालय प्रमुख विष्णु राज पुरीले बताउनुभयो ।
सिटबेल्ट र हेल्मेट नलगाएका २ सय ७९, सवारी साधनको अनुमति पत्र नभएका ४ सय १०, कागजात साथमा नबोक्ने ५ सय १, सिट क्षमता भन्दा बढी बोक्ने १ सय ३० कारबाहीमा परेका थिए । त्यस्तै रुट परमिट नलिएका १९, मादक पदार्थ सेवन गरी सञ्चालन भएका तीन, क्षमता भन्दा बढी बोक्ने चार लगायतका सवारी साधन कारबाहीमा परेको कार्यालय प्रमुख पुरीले बताउनुभयो ।
उहाँले ट्राफिक नियम विपरित सञ्चालन भएका सवारी साधनका चालकलाई नियामाअनुसार निर्धारित जरिवाना असुल गरी अर्को पटक कारबाहीमा नपर्न सचेत पार्ने गरिएको बताउनु भयो । उहाँले ट्राफिक नियमको परिपालना गर्नु सवारी चालकको कर्तव्य र नियम मिच्नेलाई कारबाही गर्नु ट्राफिक प्रहरीको दायित्व रहेको बताउनुभयो । ट्राफिक अनुशासन कायम राख्न ट्राफिक प्रहरीको जिम्मेवारी अनुसार नियमित चेकजाँच, कारबाही र सचेतनाका कार्यहरु सञ्चालन भईरहेको उहाँले सुनाउनु भयो ।
आठ वटा सवारी दुर्घटना
जिल्लामा चार महिनाको अवधिमा आठ वटा सवारी साधन दुर्घटना हुँदा एक जनाको मृत्यु र ११ जना घाइते भएका छन् । मृत्यु हुनेमा एक महिला रहेकी छिन् । घाइते हुनेमा चार पुरुष, दुई महिला, एक बालक र दुई बालिका रहेका छन् ।
चालकको लापरवाही सडक दुर्घटनाको मुख्य कारण रहेको ट्राफिक प्रहरी कार्यालय प्रमुख पुरीले बताउनुभयो । उहाँका अनुसार मापसे गरी चलाउने, नियन्त्रण हुन नसक्ने गरी ओभरस्पिड कुदाउने, सहचालक वा सिकारुले चलाउने लगायत ट्राफिक नियम उल्लंघन गरी सञ्चालन हुँदा सवारी दुर्घटना शून्य हुन नसकेको हो । अर्को कारण सडकको दुरावस्था र यान्त्रिक गडबडी पनि रहेको ट्राफिक प्रहरी कार्यालय प्रमुख पुरीले बताउनुभयो ।
आधुनिकता, सुविधा मोहका कारण सवारी चाप सडकको क्षमता भन्दा बढी भइरहेको अवस्थामा ट्राफिक नियम उल्लंघन र दुर्घटना हुन नदिन प्रहरी सचेत रहेको उहाँले सुनाउनुभयो । सवारी साधन दुर्घटना हुन नदिन चालकको प्रमुख जिम्मेवारी हुने, त्यसपछि यात्रु र ट्राफिक प्रहरीको हुने उहाँको भनाई थियो ।

Shares

Be the first to comment on "दोलखामा सवारी साधन कारबाहीबाट १४ लाख बढी राजस्व सङ्कलन"

Leave a comment

Your email address will not be published.


*