ईश्वर बिश्वकर्मा चरिकोटः मतदानका लागि सहज व्यवस्था नभएपछि दोलखाका अपाङ्गता भएका मतदाताहरु चिन्तित भएका छन् । विगत देखि नै मतदान प्रक्रियामा सहभागी हुँदा कष्ट खेप्दै आएका अपाङ्गता भएका मतदाताहरु यो पटक पनि अपाङ्गमैत्री मतदान प्रक्रिया, संरचना र व्यवस्था नभएपछि चिन्तित भएका हुन् ।
द्धन्द्ध पीडित तथा अपाङ्ग संघका अध्यक्ष कृष्ण बहादुर घिसिङले यस पटकको निर्वाचनमा आफूहरुले मतदानको लागि सहज व्यवस्था हुने आशा गरेपनि त्यसो नहुँदा निराशा छाएको बताउनु भयो । नयाँ वैकल्पिक व्यवस्था पनि नभएको र पुरानै ढाँचामा हुने निर्वाचनमा मतदान केन्द्र पनि अपाङ्गमैत्री नहुँदा मतदान गर्न सहज नहुने चिन्ता बढेको उहाँले बताउनुभयो ।
“यो पटक त सबै प्रकारका अपाङ्गता भएका मतदाताहरुले सहजै मतदान गर्न पाउने व्यवस्था सरकारले गर्छ कि भन्ने आशा लागेको थियो । “ अध्यक्ष घिसिङले भन्नुभयो “तर उही पूरानै ढाँचा र संरचनामा निर्वाचन हुँदैछ । हामीले फेरी पनि मतदानमा सहभागी हुन कष्ट भोग्नुपर्ने भयो ।”
उहाँले पुरानै ढँगबाट हुने निर्वाचनमा मतदान केन्द्र पुग्न, मतपत्रमा छाप लगाउन र मत खसाल्न समस्या हुने बताउनुभयो । सहज र सरल व्यवस्था मिलाउन पटकपटक आग्रह गरिए पनि सरकारले सो अनुसार को ब्यवस्था नगरेको उहाँको भनाई छ । “अन्य देशमा नवीन र आधुनिक प्रविधिको प्रयोग र व्यवस्थापनमा निर्वाचन हुन्छ । तर आधुनिक समयमा नेपालको निर्वाचन भने पराम्परागत खालको नै छ ।” उहाँले भन्नुभयो “अपाङ्गता भएका व्यक्तिलाई मात्र होइन, वृद्धवृद्धा, अशक्त र गम्भीर बिरामीलाई समेत सहजताका लागि उपयुक्त व्यवस्था गर्नु आवश्यक छ ।”
“समान्य र अति सामान्य वर्गका अपाङ्गता भएका ब्यक्तिहरुलाई मतदान गर्न कुनै समस्या छैन ।” उहाँले भन्नुभयो “तर विस्तारा र ह्विलचियरमै दैनिकी बिताउने, पूर्ण दृष्टिविहीन भएका अति अपाङ्गता र अशक्त ब्यक्तिहरुले मतदान प्रक्रियामा सहभागी हुनै नसक्ने अवस्था छ । यस्तो अवस्था अझै कायम हुँदा हामीलाई चिन्तित बनाएको छ ।”
जिरी नगरपालिका वडा नं. ९ ठूलोपातल स्थायी घर भएपनि हाल चरिकोटमा बसोबास गर्दै आउनु भएका अध्यक्ष घिसिङ ह्विलचियर प्रयोग गर्नुहुन्छ । अपाङ्गमैत्री मतदान केन्द्र नहुँदा यस पटकको निर्वाचनमा उहाँ मतदान गर्न जाने कि नजाने दोधारमानैं हुनुहुन्छ । “मतदान गर्न नजाउँ भने अधिकारको उपयोग भएन । जाउँ घरभन्दा टाढा मतदान केन्द्र छ, कसरी जाने ? अध्यक्ष घिसिङले भन्नुभयो “आवातजावतको लागि गाडीको व्यवस्था र मतदान केन्द्र सहज भएन भने मतदान प्रक्रियामा सहभागी हुन असम्भव नै छ ।” उहाँले आफू अध्यक्ष भएको नाताले सबै अपाङ्गता भएका व्यक्तिलाई आवतजावत गर्न सहज हुने गरी व्यवस्था मिलाउनका लागि प्रशासनमा आग्रह गर्ने बताउनु भएको छ ।
बौद्धिक तथा समुदायमा आधारित अपाङ्ग पुनस्र्थापना केन्द्रका अध्यक्ष केदार बस्नेतले निर्वाचन अपाङ्गमैत्री हुन नसक्दा अपाङ्गता भएका व्यक्तिहरुले मतदाता नामावलीमा नाम भएर पनि सजिलै मतदान गर्न नपाउने अवस्था रहेको बताउनु भयो । “यस पटक त मतदान केन्द्र अपाङ्गमैत्री हुने हल्ला थियो । तर यथार्थमा त्यस्तो भएन ।” अध्यक्ष बस्नेतले भन्नुभयो, “सहज र वैकल्पिक व्यवस्था हुने आशा मात्र गरियो । तर अन्तिममा निराशा हुनुप¥यो ।”
मतदान केन्द्र अपाङ्गमैत्री नहुँदा त्यहाँ पुग्नै गाह्रो हुने, पुगेपछि झन्झटिलो प्रक्रिया अपनाउनु पर्ने, सहयोगीको भर तिलएर मतदान गर्दा मताधिकार दुरुपयोग हुन सक्नें, फर्किन यातायातको समस्या हुने लगायतका विभिन्न समस्या झेल्नुपर्ने बाध्यता रहेको छ । सरकारले वैकल्पिक व्यवस्था नगरेपनि मतदान केन्द्रलाई अपाङ्गमैत्री बनाएको भए केही सहज हुने अध्यक्ष बस्नेतको भनाइ छ । अहिलेसम्म पुरानै ढाँचामा निर्वाचन भएकोमा अर्को पटक आधुनिक प्रविधिको प्रयोग गर्दै आपाङ्गले सजिलै मतदान गर्न पाउने ब्यवस्था गर्नु पर्ने उहाँको माग छ ।
शारीरिक अङ्ग वा प्रणालीमा भएको समस्या तथा कठिनाइका आधारमा दृष्टि सम्बन्धी अपाङ्गता, शारीरिक अपाङ्गता, सुनाइ सम्बन्धी अपाङ्गता, बौद्धिक अपाङ्गता, बहुअपाङ्गता, अटिजम, हेमोफिलिया, मनोसामाजिक र मानसिक गरी अपाङ्गतालाई १० प्रकारमा वर्गीकरण गरिएको छ । मतदान प्रक्रियामा सहभागी हुन यी सबैले विभिन्न समस्या भोग्ने गरेका छन् ।
यस सम्बन्धमा जिल्ला निर्वाचन कार्यालय दोलखाका प्रमुख शकुन्तलासँग सम्पर्क गर्दा यसपटकको अपाङ्गता भएका ब्यक्तिहरुको लागि छुट्टै व्यवस्था गर्न नसकिएपनि मतदान केन्द्र भने अपाङ्गमैत्री बनाउन प्रयास गरिएको बताउनु भयो ।
Be the first to comment on "अपाङ्गता भएका मतदाताको चिन्ताः भोट हाल्न नपाइने हो कि !"