नवराज शिवाकोटी चरिकोट÷ दोलखाको उत्तरी क्षेत्रमा रहेको विगु गाउँपालिका वडा नम्बर छ आलम्पुका स्थानीयलाई अहिले चिन्ता बढेको छ । परम्परागत रुपमा स्लेट ढुंगा निकाल्ने गरेको ढुङ्गाखानी बन्द हुन्छ कि भनेर उनीहरूमा चिन्ता बढेको हो । भूकम्पपछि केही समय खानीबाट ढुङ्गा निकाल्न छोडेका स्थानीयले अहिले फेरी जीविकोपार्जन लागि सोही पेशा लागेका छन् । परम्परागत रुपमा ढुङ्गा निकालेर बेचेर आफ्ना गर्जो टार्ने गरेकोमा गौरिशंकर संरक्षण क्षेत्रको स्थापना पछि भने समस्या देखिएको आलम्पुका प्रतमान थामीले बताउनु भयो । परापूर्वकालदेखि स्थानीयले चलाएको खानी सँञ्चालन गर्न कानुनी झन्झटले समस्या पारेको उहाँको भनाई छ । गाउँपालिका बाहिर लैजान अहिले रोकिएको भएपनि स्थानीय स्तरमा प्रयोग गर्नका लागि तथा निकासी अनुमति खुलेपछि निकासी गर्न पनि पाईने आशामा ढुङ्गा खानीबाट केही मात्रामा स्लेट निकाल्ने काम भइरहेको आलम्पुकै अर्का स्थानीय पंखलाल थामीले बताउनु भयो । खानी दर्ता गरी कानुन अनुसार सञ्चालन गर्न संरक्षण क्षेत्रले भनेको स्थानीयहरुको भनाई छ । सबै कानुनी कुरा बुझ्न समस्या हुने सोझा(साझा थामी समुदायका मानिसहरुलाई भने खानी बन्द होला भन्ने त्रास रहेको अर्का स्थानीय ईन्द्र थामीले बताउनु भयो । आलम्पुको बस्तिमाथिको कहाली लाग्दो भीरबाट स्थानीयहरुले २०१३ साल देखि नैं स्लेट निकाल्ने काम गरिरहेका छन् । स्लेट निकाल्ने कामबाट नैं आलम्पुवासीको जीवन निर्वाह भइरहेको अर्का स्थानीय शम्भु थामीले बतानु भयो । करिब छ सय घरधुरी रहेको आलम्पुका स्थानीयहरुले भीरमा भाग लगाएर स्लेट निकाल्ने गरेका छन् । स्लेट निकाल्न तथा निकासी गर्न समस्या भएपछि गाउँका कतिपय युवाहरु भने रोजगारीको खोजिमा भारतको दार्जिलिङ, खर्साङ देखि सिक्कीमसम्म पुग्ने गरेको स्थानीयहरुको भनाई छ । पढेलेखेका युवा भने बैदेशिक रोजगारीमा जाने गरेका छन् । खासै कृषि उत्पादन नहुने आलम्पुमा पाखेबाली मात्र लगाइन्छ । सिमित मात्रामा हुने मकै, कोदो, गहुँ जस्ता कृषि उत्पादनले केही महिना मात्र खान पुग्दछ । व्यवस्थित रुपमा खानी संचालनबाट मात्र आलम्पुका स्थानीयको आयआर्जनमा सकारात्मक प्रभाव पर्ने मात्र नभई घरछाउनकोलागि जस्ता किन्नु पर्ने बाध्यता पनि घट्ने विगु गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष टहल थामीले बताउनु भयो । संरक्षण क्षेत्र ले स्थानीयलाई अनावश्यक दुःख नदिई सहज रुपमा ढुङ्गा खानी संचालन गर्न दिनु पर्ने उनको माग छ । संरक्षण क्षेत्रले भने वातावरणीय प्रभाव मूल्यांकन गरी खानी विभागबाट अनुमति लिई खानी संचालन गर्दा कुनै आपत्ती नहुने बताउँदै आएको छ । २०१३ सालदेखि सञ्चालनमा रहेको आलम्पुको ढुङ्गा खानीसम्म कच्ची सडको निर्माण भएको छ ।
आवश्यक पूर्वाधारको विकास सरकारी तवरबाट भएमा आलम्पुको ढुङ्गा खानीबाट निकालिने स्लेटले जस्ता तथा मार्वल आयातलाई कम गर्ने सम्भावना छ । खानीबाट निकालिएको स्लेट घर छाउन तथा मार्वलको विकल्पमा भुईमा ओछ्याउन तथा घरको भित्तालाई आकर्षक बनाउन टाँस्ने काममा पनि प्रयोग गर्न सकिन्छ।
Be the first to comment on "आलम्पुका स्थानीयलाई खानी बन्द हुन्छ कि भन्ने चिन्ता"