देशमा व्यबस्था फेरियो, फेरिएन पाठसाला दलित बस्तिको अबस्था

नवराज चरिकोट÷भीमेश्वर नगरपालिका वडा नम्बर सात को पाठसालाटोलको दलित बस्तिमा पुग्दा ६८ वर्षिय गणेश विक परमपरागत आरनमा हँसियाको दाँत काट्दै हुनुहुन्थ्यो । उहाँले पुर्खादेखि सिकेको काम यही हो । आरन सुधारकालागि स्थानीयतहमा बजेट आउने गरेको छ । तर पाठशाला टोलका आरनहरु परमपरागत नैं छन् । खासै आधुनिक प्रविधिको त्यहाँ प्रयोग भएको छैन । पाठशाला टोल हुँदै करिब १४ वर्ष अगाडि निर्माण भएको कच्चि सडक अहिले पनि कच्चीनैं छ । वर्षातको समयमा कोही विरामी भए एम्बुलेन्स आउँन सक्दैन स्टूेचरमा बोकेर लैजानुको विकल्प छैन । प्रतिनिधि सभा तथा प्रदेश सभाको दोस्रो आवधिक निर्वाचन मंसिर चार गते हुँदै छ । पहिले जस्तै आश्वासनका पोका बाँड्ने अनि जितेपछि फर्केर नआउने नेताहरुको भिड अब पूनः बस्तिमा देखिने पाठशाला टोलका चन्द्र विकले बताउनु भयो । निर्वाचनको बेला सिँचाई, खानेपानी,पक्की सडक बनाई दिने लगायत दिन मिल्ने जति आश्वासन नेताले दिने गरेको तर जितेपछि फर्केर हेर्ने नगरेको उहाँको गुनासो छ । गाउँमा अझै परमपरागत आरनमा बुढापाकाले काम गर्ने गरेको तथा आफूहरुलाई पायक नपर्ने ठाउँ भुलभुलेमा आधुनिक आरन बनाएको ले त्यहाँ गएर काम गर्न सकिन अवस्था नरहेको विकको भनाइरहेको छ । “स्थानीयहरुसँग जमिन कम छ, थोरै जमिनमा भएपनि तरकारी खेति गर्ने गरेका छन् । ” स्थानीय सीता विकले भनिन् “ सिंचाईको राम्रो प्रबन्ध गरिदिन्छौ भन्छन् तर गर्दैनन् । नयाँ वडाध्यक्ष चुनिएका छन् , अब चाहीँ केही होला की ?” बस्तिमा खानेपानीको पनि राम्रो प्रबन्ध छैन । करिब १४ बर्ष जति आगाडि निर्माण गरिएको सडक पक्की भए आफूहरुलाई आवागमन गर्न तथा उत्पादित तरकारी बजार सम्म पुर्याउन सहज हुने स्थानीय दुर्गा कटुवालको भनाईछ ।
तर लामो समय वित्दा पनि सडकको अवस्थामा सुधार हुन नसकेको उहाँको गुनासो छ । वस्तिका युवाहरु कामको खोजिमा अन्यत्र जाने गरेका छन् । गाउँमा बसेकाहरुले सिमित मात्रमा उत्पादन गरेको तरकारीको पनि उचित मूल्य नपाई विचौलिया मात्र मोटाउने काम भएको स्थानीय युवा दिनेश विक को अनुभव छ । पाठशाला टोलमा १५ भन्दा बढी घरमा दलितहरुको बसोबास छ । स्नातक तह पढ्दै गरेका दुईजना मात्र छन् ।
गौरिशंकर क्याम्पस चरिकोटमा स्नातक तहमा अध्ययन गरिरहनु भएका कृष्ण कटुवालले पाठशाला टोलमा निर्वाचनका समयमा नेताहरुबाट आश्वासनको बाढी आउने तर निर्वाचन सकिएपछि कुनै काम नहुने अवस्था रहेको बताउनु भयो । ब्यवस्था परिवर्तन भई नेपालको संविधान २०७२ लागु भएपछि संसदको एक कार्यकाल सकिई दोस्रो निर्वाचन आउँदासम्म आफूहरुको जीवनस्तरमा कुनै परिवर्तन नआएको तर नेताहरुको जीवनस्तरमा भने ठूलो परिवर्तन आएको उहाँको अनुभव छ । जनताका पक्षमा साँच्चै काम गरी उनीहरुको जीवनस्तरमा परिवर्तन ल्याउने खालको नेता छान्न आवश्यक रहेको कटुवालले बताउनु भयो । यो पटकको निर्वाचनमा भोट माग्न आउनेहरुलाई स्थानीयले विगतमा नेताहरुले गरेका बाचा किन पूरा भएनन् सोध्न आवश्यक रहेको उहाँको भनाई रहेको छ ।

Shares

Be the first to comment on "देशमा व्यबस्था फेरियो, फेरिएन पाठसाला दलित बस्तिको अबस्था"

Leave a comment

Your email address will not be published.


*