चरिकोट(दीस)÷दोलखाका दुर्गम ग्रामिण भेगहरुमा अहिले खेतीपाती गर्न सहज बन्दै गरको छ । खेतिका लागि आधुनिक उपकरणहरु आएसँगै खेती गर्न सहज बनेको हो । हाते मिनी टिलरको प्रयोग बढेसँगै गाउँमा गोरु पाल्ने क्रम पनि घटेको छ । दोलखाको उत्तरी दुर्गम गाउँ विगु गाउँपालिका वडा नम्बर चार चिलंखा,देवीटारका ईश्वर जोशी आफ्नो बारीमा मिनी टिलर लगाएर जोताउँदै हुनुथ्यो । जोत्नका लागि गोरु लगाउँदा भन्दा मिनी टिलर प्रयोग गर्दा सस्तो र स्तरीय काम हुने उहाँले बताउनु भयो । एकहल गोरु तथा हली समेतको ज्याला मात्र हजार भन्दा बढी पर्दछ । “खाजा खानाको त हिसा बनैं हुँदैन जोशीले भन्नु भयो, “मिनी टिलर प्रयोग गर्दा भने जोत्ने र खन्ने काम दुवै हुन्छ । गोरुले खेतवारी जोत्दा बाँजो जोतेर दोस्रो पटक फेरि जोतेपछि निष्किएका डल्ला फूटाउन पूनः जनशक्तिको प्रयोग गर्नु पर्दछ । तर टिलरको प्रयोग गरी दुईपट जोतेमा डल्ला फूटाउने समस्या पनि समाधान हुने स्थानीय कृषकहरुहरुले बताउनु हुन्छ । अहिले सानो आकारको मिनी टिलर आएपछि साना पाटा सुर्का जोत्न पनि सजिलो भएको देविटारकै अर्का युवा ढलबहादुर थामीले बताउनु भयो ।
सानापाटा भएपनि दुई जनाले टिलर सजिलै बोकेर कान्ला उकाल्न तथा ओराल्न सकिने उहाँको भनाई छ । देविटारमा अहिले घण्टाको चार सय रुपैयाँका दरले टिलर धनीले खेतबारी जोति दिने गरेका छन् । यसबाट स्थानीय स्तरमा युवाहरुलाई सानै भए पनि रोजगारीको अवसर समेत प्राप्त भएको स्थानीय विमल तामाङले बताउनु भयो ।
अहिले दोलखाका सुगम देखि दुर्गम भेगसम्म मिनी टिलको प्रयोग बढ्दै गएको छ ।
कृषिमा आधुनिकीकरण गर्नका लागि प्रदेश तथा स्थानीय सरकारहरुले प्रविधिको प्रयोगमा जोड दिँदै मिनी टिलर खरिद गर्न कृषक तथा कृषक समूहहरुलाई अनुदानको ब्यवस्था गरेका कारण पनि यसको प्रयोग बढेको हो । वर्षै पिच्छे बाग्मती प्रदेश सरकार ले कृषक, कृषक समुह तथा फमहरुलाई निश्चित प्रतिशत अनुदान मिनी टिलर खरिदका लागि दिँदै आएको स्थानीय तहहरुको तथ्यांकले देखाउँछ । मिनीटिलरको प्रयोग बढेसँगै गाउँघरमा गोरु पाल्ने क्रम भने घटेर गएको छ । गोरु पाल्ने क्रम घट्दा अब प्राङ्गारिक मलको भने कमी हुन सक्ने परम्परागत रुपमा खेती गर्न गोरुको प्रयोग गर्दै आएका भीमेश्वर नगरपालिका वडा नम्बर एकका रामबहादुर थामीको शंका छ । तर, गोरुपाल्ने भन्दा गाई,भैंसी पालेर दूधको बेच्ने अनि कृषिमा आधुनिक यन्त्र उपकरणको प्रयोग गरी उत्पादन बढाउने तर्फ कृषकहरु लाग्नु उपयुक्त हुने कृषि विज्ञहरुको सल्लाह छ ।
Be the first to comment on "प्रविधिले दुर्गम क्षेत्रमा पनि खेती गर्न सहज बनाउँदै"