दीक्षण समाचार
असोज १४, चरिकोट
दोलखामा मंसिर ४ मा हुने संसदीय निर्वाचनलाई सफल बनाउन मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । सदरमुकाम चरिकोट स्थित साविकको महिला विकासको कार्यालय भवनमा शनिबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो। मुख्य निर्वाचन अधिकृतमा दोलखा अदालतका न्यायाधीस डिल्लीरत्न श्रेष्ठले जिम्मेवारी पाउनु भएको छ । उहाँले प्राप्त जिम्मेवारी अनुसार प्रतिनिधिसभाको १ र प्रदेशसभाका २ वटा क्षेत्रमा निष्पक्ष, धाँधलीरहित तवरले निर्वाचन सम्पन्न गर्न आफ्नो टिमले सक्दो प्रयास गर्ने बताउनुभयो। निर्वाचनलाई साझा लक्ष्यअनुरुप बनाउन राजनितिक दल, नेता, कार्यकर्ता, मतदाता र सुरक्षा निकायको भूमिका पनि आआफ्नाे सशक्त र प्रभावकारी हुन जरुरी रहेको जोड दिनुभयो।
मुख्य निर्वाचन अधिकृतले आचारसंहिताको पालना गराउने, उम्मेदवारको मनोनयन दर्ता, मनोनयन उपर उजुरी लिने, उजुरी उपर छानबिन गर्ने, उम्मेदवारको अन्तिम मतदाता नामावली प्रकाशन गर्ने छन् । त्यसैगरी निर्वाचन चिह्न दिने, मतदानका लागि कर्मचारी खटाउने, मतदान र मतगणना गराउने तथा निर्वाचन परिणाम प्रकाशन गरी आयोगमा प्रतिवेदन बुझाउने कार्य गर्ने छन् । जिल्ला निर्वाचन कार्यालय दोलखा प्रमुख, जिल्ला निर्वाचन अधिकारी शकुन्तला राईले आयोगको कार्यतालिका अनुसार अधिकृतको कार्यालय स्थापना गरिएको बताउनु भयो । जिल्लामा १ लाख ६१ हजार बढी मतदाता रहेका छन्। १ सय ९५ मतदान केन्द्र र ९४ वटा मतदान स्थल कायम रहेको छ ।
Be the first to comment on "दोलखामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना"