दीक्षण समाचार
चरिकोट, असोज ३
दोलखाको भीमेश्वर नगरपालिका वडा नं. ३ मा अवस्थित जुनतारा कृषि सहकारी संस्था लिमिटेडको १३ औँ वार्षिक साधारण सभा र चौथो अधिवेशन सम्पन्न भएको छ ।
सभाको उद्घाटन गर्दै भीमेश्वर नगरपालिकाका मेयर ईश्वरनारायण मानन्धरले समृद्धिको पहिलो र मुख्य आधार कृषि भएको बताउँदै कृषि विकासका लागि सहकारीसँगको हातेमालोलाई थप कसिलो र बलियो बनाइने उल्लेख गर्नु भयो । उहाँले अर्थतन्त्रको बलियो खम्बा रहेको कृषि, पर्यटन र सहकारीको सम्बन्ध तथा सहकार्य बलियो भएमा मात्र समृद्धिमा फड्को मार्न सहज वातावरण बन्ने बताउनु भयो । मेयर मानन्धरले सीमित व्यक्तिको आर्थिक हैसियत परिर्वतन हुँदैमा नगर समृद्ध नहुने भन्दै प्रचुर मात्रामा कृषि र पर्यटन उद्योग सञ्चालन भएपछि सम्पूर्ण नगरवासीको जीवनस्तर र आयआर्जनमा सुधार हुनेमा जोड दिनु भयो ।
सभामा जिल्ला सहकारी संघका महासचिव कृष्णप्रसाद दाहालले कृषि सहकारीले उद्देश्य अनुसार आफ्ना गतिविधिलाई थप प्रभावकारी र व्यापक बनाउन आवश्यक रहेको उल्लेख गर्नु भयो । उहाँले सहकारीहरु मर्म र उद्देश्यअनुसार सञ्चालन भएपछि नमूना र अनुकरणयोग्य हुनेमा जोड दिनु भयो । उत्पादन र स्वरोजगारका क्षेत्रमा सहकारीहरुले लगानी गरेमा गरिबी र बेरोजगारी अन्त्य गर्ने उद्देश्य छिट्टै पूरा हुने महासचिव दाहालको भनाई थियो ।
सभामा भीमेश्वर नगरपालिका वडा नं. ३ वडाध्यक्ष हरिशरण शिवाकोटीले कृषि क्षेत्रको विकासका लागि नगरले पर्याप्त बजेट विनियोजन गर्न नसकेको भन्दै कृषि क्षेत्रलाई माया गर्न अनुरोध गर्नु भयो । उहाँले कृषि सहकारीले कृषकका समस्या समाधान गर्ने कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक रहेको औँल्याउनु भयो ।
संस्थाका अध्यक्ष प्रविण श्रेष्ठले कृषि र कृषक शेयर सदस्यको हितमा काम गर्दै संस्थालाई गुणात्मक बनाइने सुनाउनु भयो । ऋण लगानी गरेर उत्कृष्ट उद्यमी र कृषक उत्पादन गर्ने अभियानमा सहकारी तल्लिन रहेको उहाँले उल्लेख गर्नु भयो ।
संस्थाका सचिव पार्वती श्रेष्ठले गत आव २०७८÷०७९ को प्रगति प्रतिवेदन तथा चालु आवको प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भयो । कृषिका लागि कर्जा लिनमा प्रोत्साहन गरिने, किस्तामा सहुलियत तथा छुट दिने, कृषिसँग सम्बन्धित निकायसँगको साझेदारीमा कृषि तालिम, बिमा, अनुदान कार्यक्रम लगायतका कृषकलाई फाइदा पुग्ने कार्यलाई निरन्तरता दिने लगायतका थुप्रै नीति तथा कार्यक्रमहरूको प्रस्ताव गरिएको सचिव श्रेष्ठले सुनाउनु भयो ।
कोषाध्यक्ष सुनिल श्रेष्ठले गत आवको आर्थिक प्रगति प्रतिवेदन र प्रस्तावित आयव्ययको विवरण प्रस्तुत गर्नु भयो । एक हजार एक सय ८८ शेयर सदस्य रहेको संस्थाको कुल पुँजी पाँच करोड ५२ लाख २८ हजार ६ सय ४२ रुपैयाँ रहेको छ । सभाको अवसरमा वडाध्यक्ष हरिशरण शिवाकोटी सहित संस्थाका उत्कृष्ट सदस्यहरुलाई सम्मान गरिएको थियो ।
Be the first to comment on "जुनतारा कृषि साकोसको १३ औँ साधारणसभा र चौथो अधिवेशन सम्पन्न"