दीक्षण समाचार
चरिकोट, भदौ २३
दोलखामा स्थानीय निर्वाचन अन्तर्गत जिल्ला समन्वय समिति र नगर तथा गाउँ कार्यपालिकाको विभिन्न पदका निर्वाचित एवं पराजित ११७ जना उम्मेदवारलाई स्पष्टीकरण सोधिएको छ । उनीहरूले निर्धारित समयावधिमा बिल भरपाई सहित निर्वाचनको खर्च विवरण पेश नगरेको कारण निर्वाचन आयोगले बिहीबार स्पष्टीकरण सोधेको हो ।
“तोकिएको समयावधिभित्र केकुन कारणले निर्वाचन खर्चको विवरण नबुझाउनु भएको हो ? तोकिएको समयावधिभित्र निर्वाचन खर्चको विवरण नबुझाएकोमा तपाईँहरूलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २६ बमोजिम किन कारबाही हुनु नपर्ने हो ?” भनी आयोगले उम्मेदवारहरूलाई स्पष्टीकरण सोधेको हो ।
स्पष्टीकरण सोधिएका उम्मेदवारहरूले आफ्नो सफाइ सहितको स्पष्टीकरण सात दिन भित्र जिल्ला निर्वाचन कार्यालय वा निर्वाचन आयोगमा पेश गर्न भनिएको छ । जिल्ला निर्वाचन कार्यालय दोलखाका अनुसार जिल्ला समन्वय समितिका ११ जना उम्मेदवारले खर्चको विवरण पेश गरेका छैनन् ।
खर्चको विवरण पेश नगर्नेमा गाउँ तथा नगर कार्यपालिकाका अधिकांश उम्मेदवारहरू रहेका छन् । जसमा भीमेश्वर नगरपालिकाका १६, जिरी नगरपालिकाका १४ जना रहेका छन् । कालिञ्चोक गाउँपालिका १०, विगु गाउँपालिका ८, गौरीशंकर गाउँपालिकाका १२, बैतेश्वर गाउँपालिकाका ६, तामाकोसी गाउँपालिकाका २२, मेलुङ गाउँपालिकाका ६ र शैलुङ गाउँपालिका १२ जना निर्वाचित एवं पराजित सबै उम्मेदवारले निर्वाचन खर्च विवरण पेश नगरेपछि स्पष्टीकरण सोधिएको छ । बिलम्ब गरी खर्च विवरण बुझाउने जिरी नगरपालिकाका एक जनालाई पनि स्पष्टीकरणमा परेका छन् । स्पष्टीकरण सोधिएका उम्मेदवारहरूको नामावली कार्यालयको फेसबुक पेज र कार्यालयको सूचना पाटीमा सार्वजनिक गरिएको सूचना अधिकारी विशाल केसीले बताउनु भयो । निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिन भित्र खर्च विवरण बुझाउनुपर्ने कानूनी व्यवस्था छ । तर कानूनी व्यवस्थाको परिपालना गरी खर्च विवरण पेश गर्न पटकपटक ताकेता गरेपनि अटेर गर्न उम्मेदवारहरूलाई कारबाही स्वरुप स्पष्टीकरण सोधिएको हो ।
Be the first to comment on "निर्वाचन खर्च विवरण नबुझाउने दोलखाका उम्मेदवारलाई सोधियो स्पष्टीकरण"