ईश्वर विश्वकर्मा
चरिकोट, भदौ २१
रङ्गिबिरङ्गी प्वाँख फिँजाएर नाच्ने मयूर हेर्ने रहर भए भीमेश्वर नगरपालिका वडा नं. ५ बिरुवामा जान सकिन्छ । त्यहाँ नगरपालिकाले पर्यटन प्रवर्द्धन र मयुर संरक्षण गर्ने उद्देश्य सहित पार्क निर्माण गरेर आकर्षक पक्षी मयूरको अवलोकन गर्न सकिने व्यवस्था मिलाएको छ ।
केही साता अघिसम्म पार्क विचरणमा पुग्ने पर्यटकहरूले मयूर नदेखिएपछि दुई वटा मयूरको प्रतिमा मात्र हेरेर चित्त बुझाउँथे । कतिपय नाम मात्रको मयूर पार्क भनेर निराश हुँदै फर्किन्थे । तर अहिले भने मयूरहरू रोचक र आकर्षक शैलीमा खेलिरहेको, चरिरहेको र नाचिरहेको देख्न सकिन्छ । पार्कमा अहिले तीन वटा हुर्किँदै गरेका मयूर रहेका छन् । उक्त मयूर परिपक्व भएपछि प्रजनन हुँदै संख्या पनि बढ्ने अपेक्षा गरिएको छ ।
वडाध्यक्ष बासु श्रेष्ठले घरमै संरक्षणमा राखिएको चार वटा हुर्किँदै गरेको मयुर ल्याएर पार्कको “केज”मा छाडिएको बताउनु भयो । उहाँका अनुसार स्थानीय लक्ष्मी बुढाथोकीले घरमा संरक्षण गरी राखेको मयूरहरु पार्कमा छाडिएको हो । तर छाडिएका चार मयूर मध्ये एक वटा न्याउरी मुसाले मारिदिएपछि तीन वटा मात्र बाँकी रहेका छन् । तिनलाई जोगाउन अहिले सुरक्षित व्यवस्था मिलाइएको वडाध्यक्ष श्रेष्ठले बताउनु भयो ।
“पार्कमा केही वर्ष अघिसम्म मयूर सहजै देख्न पाइन्थ्यो । तर पछि केही संख्याका मयूरहरुले वासस्थान परिवर्तन गरी अन्त गएकोले कमै मात्र देखिने गरेको थियो ।” वडाध्यक्ष श्रेष्ठले भन्नुभयो “तर अहिले फेरी पनि पार्कमा मयूर देख्न सकिने भएको छ ।” अहिले पनि केजमा राखिएका भन्दा अन्य मयूरहरु कहिलेकाँही पार्क वरिपरि जङ्गलमा देखिने गरेको छ ।
केही वर्ष अघिसम्ममा बिरुवा क्षेत्रको जङ्गलमा प्रशस्त मात्रामा देखिने मयुर डढेलोको प्रकोप, भौतिक निर्माण र मानवीय क्रियाकलाप बढ्दा कमै मात्र देखिने गरेको छ । शृङ्गार र सुन्दरताले भरिपूर्ण पक्षी मयुर विस्थापित हुँदै, हराउँदै गएपछि पार्क निर्माण गरेर संरक्षण गर्ने अपेक्षा गरिएको वडाध्यक्ष श्रेष्ठले बताउनु भयो ।
“सुन्दर र आकर्षक पक्षीहरू मध्ये मयुर एक महत्वपूर्ण पक्षी हो । जुन बिरुवा क्षेत्रको जङ्गलमा प्रशस्तै देखिन्थे । तर अहिले बढ्दो मानवीय क्रियाकलापले विस्थापन र लोपोन्मुख हुँदै गएको छ ।” उहाँले भन्नुभयो, “मयूरको संरक्षण र पर्यटन प्रवर्द्धन गर्न पार्क निर्माण गरिएको छ । यो निर्माणाधीन अवस्थामै रहेको छ । भविष्यमा यसको पूर्णतासँगै अपेक्षा अनुरूप नतिजा प्राप्त हुने छ ।”
एक वडा, एक पार्क अभियान अन्तर्गत आव २०७५÷०७६ मा निर्माण सुरुवात भएको मयुर पार्कमा ५० रोपनी क्षेत्रफलमा फैलिएको छ । मयूर हुर्कनका लागि उपयुक्त प्रकृतिको वातावरणका साथै वरिपरि तारजालीको व्यवस्थापन गरिएको छ । पार्कको क्षेत्रफल बढाएर एक सय रोपनी पु¥याउने लक्ष्य राखिएको छ । वडाध्यक्ष श्रेष्ठका अनुसार वर्षेनी लाखौँ रकम खर्च गर्ने गरिएको पार्क आकर्षक बन्दै गर्दा पर्यटकीय गतिविधिहरू बढ्दै गएको छ । पार्कमा पत्थरको दुई वटा मयूरको प्रतिमा प्रतिस्थापन गरिएको छ । जसले मयुर पार्कलाई प्रतिबिम्बित गर्दछ ।
पार्क सम्म पुग्न आकर्षक प्रवेशद्वार, सडकमार्ग र पार्कमा पर्यटकीय सुविधाका लागि शौचालय र क्याफे सञ्चालनको लागि पूर्वाधार तयार गरिएको छ । पोखरी र अन्य पूर्वाधारहरु पनि निर्माण गर्ने योजना रहेको छ । वडाध्यक्ष श्रेष्ठले पार्कको निर्माण पूर्णता पछि मयुर अवलोकनका लागि जिल्लामै प्रसिद्ध पार्क बन्ने र पर्यटकीय चहलपहलमा वृद्धि हुने बताउनु भयो ।
Be the first to comment on "आकर्षक गन्तव्य बन्दै ‘मयूर पार्क’"