दीक्षण समाचार ÷चरिकोट, –नेकपा एमाले दोलखाले ‘पार्टी शुद्धीकरण एवं सुदृढीकरण अभियान’ सम्पन्न गरेको छ । पार्टीलाई नीति, पद्धति र विधिसम्मत चलायमान, सबल र मजबुत बनाउन साउन १४ गतेदेखि सञ्चालित अभियान भदौ १६ गते सम्पन्न भएको हो । पालिका स्तरमा एक संयोजक र एक सहजकर्ता परिचालन गरी जिल्ला, पालिका र वडास्तरमा अन्तरक्रिया, छलफल र प्रशिक्षण कार्यक्रम सहित अभियान सञ्चालन भएको थियो । पार्टी सचिव हिरा थोकरले वर्षात्को मौसममा भएपनि निर्धारित समयमै अभियान सफलतापूर्वक सम्पन्न भएको बताउनु भयो । अभियानमा संगठन सदस्यता नवीकरण, सदस्य थपघट, गठन, पुनर्गठन, पार्टी प्रवेश, प्रशिक्षण तथा जागरण कार्यक्रम सञ्चालन भएको थियो । त्यसैगरी स्थानीय तहको निर्वाचनको समीक्षा र आगामी निर्वाचनमा विजयका लागि अपनाउनुपर्ने उपाय र रणनीति केन्द्रित छलफल गरिएको थियो । पार्टीको आन्तरिक समस्यालाई निर्मूल पार्दै विशुद्ध राजनीतिक, सांगठनिक र सामाजिक गतिविधिलाई प्रवर्द्धन र संवर्द्धन गर्न अभियानले सहयोग पुगेको सचिव थोकरले बताउनु भयो । स्थानीय तहको निर्वाचनमा असहयोग र अन्तर्घात गर्नेको पहिचान गर्ने कार्य अभियानकै क्रममा गरिएको छ । अन्तर्घातमा संलग्न भएकाहरुलाई कार्यदलको प्रतिवेदन पेश गरेपछि सचेत गराउने, स्पष्टिकरण सोध्ने र निष्कासन गर्ने सम्मको कारबाही गरिने सचिव थोकरले बताउनुभयो । अहिले कार्यदलले प्रतिवेदन तयार गर्ने कार्यमा जुटिरहेको छ । ‘पार्टी शुद्धीकरण एवं सुदृढीकरण अभियान’ सम्पन्न भएकोले अब मंसिर ४ गतेका लागि तय भएको प्रदेश सभा एवं प्रतिनिधि सभाको निर्वाचनका उम्मेदवारहरु छनौट एवं सिफारिस गरी निर्वाचन केन्द्रित अभियान सञ्चालन गरिने उहाँले बताउनु भयो । “दोलखामा एमाले कमजोर थिएन । अन्य पार्टी भन्दा शक्तिशाली नै छ । संगठन शुद्धीकरण एवं सुदृढीकरण अभियानले थप शक्तिशाली र मजबुत भएको छ ।” उहाँले भन्नुभयो “अन्य पार्टीको गठबन्धन भएपनि परास्त गर्न सक्ने ताकत बनाएर निर्वाचनमा एमाले होमिने छ । र जनताले अत्यधिक मतका साथ हाम्रा उम्मेदवारलाई जिताउने छन् ।”
Be the first to comment on "एमाले दोलखाको “शुद्धीकरण तथा सुदृढीकरण अभियान” सम्पन्न"