दीक्षण समाचार
चरिकोट, भदौ ६
बागमती प्रदेशका वन तथा वातावरण मन्त्री विशाल खड्काले दोलखालाई भ्रष्टाचारमुक्त जिल्ला बनाउन आवश्यक रहेको बताउनु भएको छ । आइतबार चरिकोटमा आयोजित वार्षिक समीक्षा गोष्ठीमा मन्त्री खड्काले जिल्लालाई भ्रष्टाचारमुक्त जिल्ला बनाई सुशासनमा अब्बल र समृद्धिमा सबल बनाउन आवश्यक रहेको बताउनुभएको हो । “हामी जिल्लामा भ्रष्टाचार शून्य बनाउन चाहन्छौँ । हिजो इतिहासमा के भयो त्यो थाहा छैन । तर अबको अवधि सुशासनको हो ।” मन्त्री खड्काले भन्नुभयो, “जिल्लालाई समृद्ध बनाउन सुशासन युक्त हुन आवश्यक छ ।” उहाँले जिल्लामा सञ्चालित संघ, प्रदेश र स्थानीय तहको योजनामा सुशासन कायम हुनपर्ने बताउनुभयो ।
मन्त्री खड्काले स्रोतसाधन उपलब्धतासँगै विकास जग निर्माण भइसकेको अवस्थामा नयाँ जनप्रतिनिधिले विकास निर्माणमा तीव्रता दिनुपर्ने उहाँले बताउनुभयो । उहाँले बिस्तारै हिँड्ने होइन, कुद्ने बेला आएको भन्दै जनप्रतिनिधिले सुशासन कायम गर्दै कार्यलाई तीव्र बनाउनुपर्ने बताउनुभयो । “स्रोतसाधनको अभाव र समस्याको बाहना बनाएर अब कार्य क्षेत्र भन्दा बाहिर जान पाइदैन । विगतको पाँच वर्षलाई सिकाइको अवधि मानियो । अबको अवधि भनेको कुद्ने अवधि हो ।” उहाँले भन्नुभयो “सुरुको ढोका पनि स्थानीय सरकार हो, अन्तिम ढोका पनि यही सरकार हो । त्यसैले दोलखा समृद्धिको लागि अब परिणाम निकाल्नुपर्छ । त्यसमा प्रदेश सरकार सहयोग गर्न प्रतिबद्ध छ ।”
मन्त्री खड्काले पशुपति चौलागाईँ स्मृति अस्पताल र जिरी अस्पताल बजेट, स्रोतसाधन र जनशक्तिको अभावमा बन्द नहुने बताउँदै दुबै अस्पताललाई प्रदेश सरकारको मातहतमा ल्याई गुणस्तरीय र सुविधासम्पन्न बनाउन आफूले पहल गर्ने प्रतिबद्ध रहेको बताउनुभयो । जिरीमा कृत्रिम ताल बनाउने प्रक्रिया सुरु भइसकेको बताउँदै जिरीको सौन्दर्य र आम्दानी बढाउने उद्देश्य ताल निर्माणको रहेको मन्त्री खड्काले बताउनुभयो । उहाँले जिरी र दोलखा जिल्लावासीको सपना रहेको कृत्रिम ताल निर्माणका लागि बजेटको समेत सुनिश्चित भएकोले त्यसको सफलताको लागि प्रदेश सरकारले प्राथमिकता दिएको बताउनुभयो । उहाँले जिरी एकीकृत परियोजना मार्फत जिरीमा कृत्रिम तालको निर्माण हुन लागेको बताउनुभयो । उहाँले प्रदेश सरकारद्वारा गरिएको कामको विषयमा सुनाउँदै दोलखा जिल्लालाई प्रदेश प्राथमिकतामा राखेको बताउनुभयो ।
Be the first to comment on "दोलखालाई सुशासन युक्त बनाऔँः मन्त्री खड्का"