१२ हजार बढी नागरिकता वितरण

ईश्वर बिश्वकर्मा
चरिकोट, साउन १०
जिल्ला प्रशासन कार्यालय दोलखाबाट १२ हजार भन्दा बढी नेपाली नागरिकता वितरण गरिएको छ । गत आर्थिक वर्ष २०७८÷०७९ मा जिल्ला प्रशासन कार्यालयले पाँच हजार ५ सय ११ वटा महिला र सात हजार ४५ जना पुरुषलाई गरी १२ हजार ५ सय ५६ वटा नागरिकता वितरण गरेको जनाएको छ ।
कार्यालयका अनुसार वंशजको आधारमा दुई हजार ९ सय २५ महिला र तीन हजार ७ सय ४२ जना पुरुषलाई छ हजार ६ सय ६७, प्रतिलिपी दुई हजार ५ सय ७९ महिला र तीन हजार ३ सय ३ पुरष गरी पाँच हजार ८ सय ८२ वटा र बैवाहिक अंगिकृत सात वटा नागरिकता वितरण गरिएको हो ।
गत वर्ष वितरण गरिएको नागरिकताको संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा दोब्बरले बढी हो । अघिल्लो वर्ष ०७७÷०७८ मा दुई हजार ९ सय १० महिला र तीन हजार ३ सय ५६ जना पुरुषलाई गरी कुल छ हजार २ सय ६६ वटा नागरिकता वितरण गरिएको थियो । अघिल्लो आर्थिक वर्ष कोरोना महामारी र कार्यालयको सेवा प्रवाह प्रभावित हुँदा नागरिकता वितरण पनि कम भएको थियो । तर गत आर्थिक वर्ष कोरोना साम्य भएको र सेवा प्रवाहलाई नियमित सुचारु राखेकोले नागरिकता लिनेको संख्या बढेको कार्यालयका सूचना अधिकारी औलाख बहादुर आलेले बताउनुभयो ।
उहाँका अनुसार अहिले कार्यालय खुल्नु अघि नै नागरिकता लिने सेवाग्राहीको भीड लाग्छ । नागरिकता शाखाका कर्मचारीलाई भ्याइनभ्याइ हुन्छ । कार्यालयमा दैनिक ७० जनासम्मलाई नागरिकता जारी गर्ने गरिएको छ । आवश्यक कागजात र प्रक्रिया पुगे नागरिकले बिना झन्झट सहजै नागरिकता पाउने गरेका छन् । सूचना अधिकारी आलेका अनुसार कार्यालयमा नागरिकता मात्र नभई राहदानी, नावालक परिचयपत्र वितरण, मतदाता नामावली, राष्ट्रिय परिचयपत्रको विवरण संकलन पनि बढेको छ । यी लगायत अन्य सबै सेवा प्राप्त गर्ने सेवाग्राहीको संख्या बढ्दै गएको छ । दरबन्दी अनुरुप सम्पूर्ण कर्मचारीको पदपूर्ति हुने हो, भने सेवा प्रवाह र कार्यसम्पादनलाई थप चुस्त, दुरुस्त र प्रभावकारी बनाउन सकिने सूचना अधिकारी आलेलले सुनाउनुभयो । यद्यपि अहिले पनि सेवाग्राहीलाई सन्तुष्ट पार्ने प्रयास जारी रहेको उहाँको दाबी छ ।

Shares

Be the first to comment on "१२ हजार बढी नागरिकता वितरण"

Leave a comment

Your email address will not be published.


*