सुत्केरी आमालाई वडाको कोसेली

ईश्वर बिश्वकर्मा
चरिकोट, असार १९
दोलखाको बिगु गाउँपालिका वडा नं. ६ आलम्पुका १७ जना सुत्केरी आमालाई पोषण सामाग्री वितरण गरिएको छ । सुत्केरी आमा तथा बच्चाको मानसिक तथा शारीरिक स्वास्थ्यका लागि स्याहारसुसार तथा खानपानमा विषेश ख्याल गर्नुपर्ने सन्देशसहित वडाले कोसेली स्वरुप पोषण सामाग्री वितरण गरेको हो । वडाध्यक्ष टहल बहादुर थामीले सुत्केरी आमा र बच्चाको स्वास्थ्यको लागि पौष्टिकयुक्त खानेकुराको आवश्यकता हुने भएकोले वडाको तर्फबाट कोसेलीका रुपमा प्रतिव्यक्ति एक लिटर तोरीको तेल, अण्डा, चना लगायतका सामाग्री सहित लुगा धुने साबुन वितरण गरिएको बताउनुभयो । चार पटक गर्भ जाँच गराएका र बर्थिङ सेन्टरमा प्रसूति सेवा लिएका आमाहरूलाई कोसेली दिइएको हो । नियमित गर्भ जाँच र स्वास्थ्य संस्थामा सुत्केरी हुनुपर्ने तथा मातृशिशुको ख्याल राख्नुपर्ने जनचेतना समेत प्रवाह गरिएको छ ।
 सचेतना र पहुँच अभावमा केही वर्ष अघि जोखिम मोल्दै घरमै सुत्केरी हुने अवस्था थियो । तर अहिले स्वास्थ्यकर्मीको निगरानीमा अनिवार्य स्वास्थ्य संस्थामै सुत्केरी हुनुपर्छ, भन्ने मान्यता बढेको र त्यसलाई कायम राख्न सरकारले दिने खर्च प्रभावकारी भएको वडाध्यक्ष थामीले बताउनुभयो । अहिले पनि कतैकतै घरमै सुत्केरी हुने गरेको पाइएकोले त्यसलाई रोक्दै घरमा सुत्केरी गराउनेको संख्या शून्य पार्नुपर्ने सुनाउनुभयो । गाउँपालिकाको विभिन्न स्थानमा स्वास्थ्य संस्था र बर्थिङ सेन्टर रहेका छन् । त्यहाँसम्म पुग्नका लागि सडक र एम्बुलेन्स सुविधा रहेको छ । ती सुविधाको प्रयोग गर्दै स्वास्थ्य संस्थाको सेवा लिन गर्भवती र सुत्केरीलाई प्रेरित गरिएको उहाँले बताउनुभयो । गाउँपालिकाको नागरिक स्वस्थ र निरोगी भएमा मात्र समृद्धिको सपना साकार हुन्छ । त्यसैको लागि नागरिकको स्वस्थता कायम गर्न स्वास्थ्य क्षेत्रमा विभिन्न कार्यलाई आगामी वर्षदेखि अगाडि बढाइने उहाँले बताउनुभयो ।

Shares

Be the first to comment on "सुत्केरी आमालाई वडाको कोसेली"

Leave a comment

Your email address will not be published.


*