ईश्वर विश्वकर्मा
चरिकोट, असार १५
दोलखाको धार्मिक तथा पर्यटकीय स्थल कालिञ्चोकमा एक दिने चौँरी महोत्सव हुने भएको छ । प्रदेश सरकारको समन्वयमा कालिञ्चोक याक एण्ड टुरिजम फरेस्ट रिसर्च लिमिटेडले आगामी असार १८ गते चौँरी महोत्सव आयोजना गर्ने भएको हो । पर्यटन प्रवर्द्धनका साथै चौँरी पालन व्यवसायलाई प्रोत्साहनका लागि महोत्सवको आयोजना गर्न लागिएको कालिञ्चोक याक एण्ड टुरिजम फरेस्ट रिसर्च लिमिटेडका अध्यक्ष लालकुमार केसीले बताउनुभयो ।
महोत्सवमा कालिञ्चोकको कुरी क्षेत्रमा रहेका चौँरी र उत्पादित सामाग्रीहरूको प्रदर्शन गरिने छ । त्यसैगरी चौरीको सङ्ख्यामा वृद्धि गर्ने विषयमा छलफल तथा अन्तरक्रिया हुने केसीले बताउनुभयो । किसानहरूलाई चौँरी पालनतर्फ आकर्षित गरी चौरीको संख्या वृद्धि गर्नुका साथै उत्पादित छुर्पी, घिउ जस्ता दूधजन्य वस्तुहरूको बजारीकरण गर्ने महोत्सवको उद्देश्य रहेको छ । चौरीमा कृत्रिम गर्भाधान अभियान सञ्चालन गर्ने र चौँरी तथा याक प्रजनन विकास केन्द्रको रुपमा कालिञ्चोकलाई विकास र विस्तार गर्न महोत्सवले निष्कर्ष निकाल्ने आयोजकले जनाएको छ । महोत्सव आयोजनाका लागि सोनाम शेर्पाको अध्यक्षतामा मूल आयोजक समिति गठन गरी तयारी थालिएको छ । महोत्सवमा स्थानीय तहका जनप्रतिनिधिहरूको समेत सहभागिता रहने छ ।
Be the first to comment on "कालिञ्चोकमा चौँरी महोत्सव आयोजना हुने"