बाबुराम शर्मा (चरिकोट) –दोलखाको सदरमुकाम चरीकोट स्थित भीमेश्वर नगरपालिकाले आयोजना गरेको नगरभित्रका अङग्रेजी शिक्षकहरुका लागि दुई दिने अङग्रेजी भाषामा सिकाइ सहजीकरण तालिम सम्पन्न भएको छ । शनिबारदेखि सुरु भएको यो तालिममा अङग्रेजी शिक्षकहरुको क्षमता विकास गरी अब्बल शिक्षण गर्न सक्षम बनाउने उद्देश्य राखिएको शिक्षा शाखाका स्रोत शिक्षक सुन्दर खडकाले जानकारी दिनु भयो । तालिममा विज्ञान, गणितलगायतका विषयहरुमा पनि अङग्रेजी भाषामै शिक्षण गर्न प्रशिक्षण गरिएको छ । नगरभित्रका प्राथमिक २२ र आधारभूत तथा माध्यमिक विद्यालयका २० गरी कुल २२ विद्यालयका ६२ जना अङग्रेजी शिक्षकहरु सहभागी रहेका थिए ।
तालिममा यहाँका अङग्रेजी भाषा शिक्षक समाज ( नेल्टा ), विज्ञान शिक्षक समाज र गणित शिक्षक समाजले सहजीकरण गरेको थियो । अङग्रेजी मोहमा परेका विद्यार्थी तथा अभिभावकलाई सामुदायिक विद्यालयमै अब्बल शिक्षण गरी अब्बल विद्यार्थी तयार पार्न समेत नगरले १–५ कक्षामा अङग्रेजी पाठ्यापुस्तकमा नगरले अनुदान दिँदै आएको छ । क्रमशः यसलाई माध्यमिक तहसम्म पु–याउने लक्ष्य राखिएको छ ।
Be the first to comment on "अंग्रेजी सिकाई तालिम सुरु"