ईश्वर बिश्वकर्मा
चरिकोट, जेठ ३१
दोलखामा स्थानीय तहको निर्वाचन सम्पन्न भएको एक महिना पछि बुधबारदेखि पुनः मतदाता नामावली संकलन हुने भएको छ । स्थानीय तहको निर्वाचन मिति घोषणा भएपश्चात २०७८ माघ २५ गतेदेखि मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम स्थगित भएको थियो । बैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि पुनः सो कार्यक्रम सुचारु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
मतदाता नामावली तथा अद्यावधिक कार्यक्रम सुचारु भएसँगै योग्यता पुगेका नेपाली नागरिकहरूले नामावलीमा नाम दर्ता गराउन कार्यालयले अनुरोध गरेको छ । कार्यालयका सूचना अधिकारी विशाल केसीले जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय सिङ्गटीमा मतदाता नामावली संकलन कार्य सुरु हुने बताउनुभयो । नामावलीमा नाम दर्तासँगै त्रुटि सच्याउने, विवाह तथा बसाइँसराइको कारणले मतदाताको ठाउँ सारी गर्न, मतदाता नामावलीमा कसैले झुटा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा आवश्यक प्रमाणसहित उजुरी दिन सकिने छ । त्यसैगरी कुनै मतदाताको नाम एक भन्दा बढी स्थानमा समावेश भए एक स्थानमा मात्र कायम गर्ने र मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नामावलीबाट नाम हटाउनाको लागि सूचना दिन सकिने सूचना अधिकारी केसीले बताउनुभयो ।
मतदानको लागि योग्य उमेर भएपनि मतदाता नामावलीमा नाम नभएका कारण गत स्थानीय तहको निर्वाचनमा केहीले मतदान गर्नबाट वञ्चित भएका थिए । नामावलीमा नाम दर्ता भएपछि मात्र मतदान प्रक्रियामा सहभागी हुन सकिन्छ । अब पुनः मतदाता नामावली कार्यक्रम सुचारु भएकोले नाम दर्ता गराई मताधिकार सुनिश्चित गर्न जिल्ला निर्वाचन कार्यालयले अनुरोध गरेको छ ।
Be the first to comment on "दोलखामा मतदाता नामावली संकलन तथा अद्यावधिक गरिँदै"